PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

फ्राइडे रिलिज: ४ नेपाली फिल्म एकसाथ पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज: ४ नेपाली फिल्म एकसाथ पर्दामा

काठमाडौं: यो शुक्रबार चार नेपाली फिल्म एकसाथ सार्वजनिक भए। सकस, रोमियो, तान्द्रो र मेला प्रदर्शनमा आएका हुन्। बलिउड र हलिउडतर्फ भने यो साता नयाँ फिल्म नेपालको लागि रिलिज भएका छैनन्।

माओवादी लडाकु गंगा बहादुर लामाको संस्मरात्मक किताब ‘स्मृतीका डोबहरु’को कथामाथि बनेको फिल्म हो ‘तान्द्रो’। दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्मले अन्तराष्ट्रिय फिल्म महोत्सवमा भने यसअघि नै सहभागिता जनाइसकेको छ। साम्तेन भुटिया निर्देशित फिल्ममा अन्य कलाकारको रामबाबु गुरुङ, बुद्धी तामाङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ। तान्द्रोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन्। शतिस कुमार गौतम, ब्ल्याक हर्स पिक्चर र सिनेमा आर्टसको संयूक्त लगानीमा निर्माण भएको फिल्ममा उपेन्द्र सुब्बाको पटकथा र रामबाबु गुरुङको संवाद छ।

त्यस्तै फिल्म 'रोमियो'लाई पहिलो मुस्लिम अभिनेता भनिएका हसनको खानले निर्माण गरेका हुन्। त्यस्तै फिल्ममा पहिलो मुस्लिम अभिनेत्री ओसिमा बानुले डेब्यु गर्दै छिन्। फिल्ममा निशा अधिकारी, मेलिना मानन्धर, भानु प्रताप, बिकास खतिवडा, बिपेन गुरुङ लगायत कलाकारको मुख्य अभिनय रहेको छ। रोमियोलाई शंकर कार्कीले निर्देशन गरेका हुन्।

प्रेम कथामा आधारित फिल्म हो ‘मेला’। फिल्मलाई वसन्त निरौलाले निर्देशन गरेका हुन्। फिल्ममा सलोन बस्नेत, आमेश भण्डारी, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ। हरि पन्तले निर्माण गरेको फिल्म इन्डिया रिलिजको लागि पनि बिक्री भैसकेको छ।

द्वन्द्व निर्देशक एनबी महर्जनको निर्देशन रहेको ‘सकस’ले काठमाडौंमा हुने गुण्डागिरीको कथा भन्ने जनाइएको छ। मौनता श्रेष्ठको कथा लेखन रहेको फिल्ममा विल्सन विक्रम राई, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेको छ।

तान्द्रो, रोमियो र मेलाले सिंगल स्क्रिन साथै मल्टिप्लेक्समा सो पाएका छन् भने सकस सिंगल स्क्रिनमा रिलिज छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell