PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

धनुषा क्षेत्र न. ३ का मतदातालाई आफ्नो पक्षमा तान्न निधि र महतोको जोड



पहिलोपोस्ट

धनुषा क्षेत्र न. ३ का मतदातालाई आफ्नो पक्षमा तान्न निधि र महतोको जोड

धनुषा : धनुषा निर्वाचन क्षेत्र नं ३ मा यतिबेला सबैको ध्यान केन्द्रित भएको छ। यस क्षेत्रका प्रभावशाली नेता नेपाली कांग्रेसका विमलेन्द्र निधि र राजपाका राजेन्द्र महतोले उम्मेदवारी दिएसँगै कसले बाजी मार्ला भनेर चर्चाको विषय बनेको छ।

निर्वाचनका सन्मुख मतदातालाई फकाउन कांग्रेसका नेता निधि र राजपाका नेता महतो दिनरात खटिएका छन्। बिहान उठेदेखि अबेर रातिसम्म दुवै नेताको प्रचारप्रसारका कार्यक्रम चलिरन्छ।

दुवै नेताले जीत आफ्नो पक्षमा पार्न आफ्नो क्षेत्रबाहेक अन्य कुनै क्षेत्रमा जान सकेका छैनन्। महतो प्रतिस्पर्धी नहुँदा निधिलाई त्यति गाह्रो थिएन तर उनको उम्मेदवारीले कडा प्रतिस्पर्धा हुने आँकलन सबैले गरिरहेका छन्।

यसअघिका चुनावमा धनुषा ३ बाट विमलेन्द्र निधिले लगातार दुई पटक र एक पटक धनुषा ४ बाट जितेका थिए। पछि ४ बाट कृष्णप्रताप मल्लसँग पराजित भएपछि उनले क्षेत्र परिवर्तन गरेका हुन्।

पछिल्लो पटक सडक निर्माण कार्यमा निकै प्रशंसा बटुलेका उनलाई स्थानीयवासीले विकास पुरुषको रूपमा प्रचारप्रसार गरिरहे पनि परिस्थिति सहज छैन। पहिलो संविधानसभाको चुनावमा एमाले नेता हरिदेव मण्डलसँग करिब दुई हजारको मतान्तरले विजय भएका निधि २०७० सालको दोस्रो संविधानसभा चुनावमा एमालेकी जुली महासेठसँग एक हजार ४९३ मतको मतान्तरले विजयी भएका थिए।

यसपालीको चुनावमा वामपन्थी गठबन्धनले कमजोर उम्मेदवारलाई उठाएको छ। रामसिंह यादव सो क्षेत्रका लागि नयाँ अनुहार मात्रै होइन जनताको प्रत्यक्ष राजनीतिमा समेत नौलो अनुहार भएका छन्।

यस क्षेत्रमा रघुवीर महासेठ र राजेन्द्र महतोबीच गठबन्धन भएको र महासेठले नेता महतोलाई सहयोग गर्ने आन्तरिक तयारी भइरहेको चर्चामा आएको छ।
सर्लाही छोडेर धनुषा आएका महतोलाई जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अलोकप्रियताले पनि समस्या पारेको चर्चा सुनिन्छ।

स्थानीयतहको चुनावमा धनुषा निर्वाचन क्षेत्र नं ३ मा पाँच लाख ८८ हजार ८७२ मत रहेका छन्। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell