
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर एकका उम्मेदवार प्रकाशमान सिंहले यहीका जनताले आफ्नो हैसियत बढाएको बताएका छन्।
शुक्रबार बिहान चुनावी घर दैलोको क्रममा नयाँ बानेश्वर पुगेका नेता सिंहले भने, ‘यहाँका जनताले मलाइ ५२ प्रतिशत मत दिएर जिताउनु भो।’ त्यसैले म पार्टीमा महामन्त्री र सरकारमा उपप्रधानमन्त्रीसम्म बनें। संसदमा उपनेतासम्म बनें। यो सबै यहाँकै सहयोगले भएको हुँ।
आफू दुई पटकसम्म विजयी भइसकेको अवस्थामा पनि जनताले साथ दिए देश हाँक्ने आँटका साथ पुनः निर्वाचनमा उम्मेदवार बनेको सिंहले बताए।
भने ‘म देश नै हाँक्न सक्छु।’ सम्वृधिको अभियानमा मलार्इ साथ दिनुहोस। भित्री मनदेखि मलार्इ देश हाँक्न मन लागेको छ।’
काठमाडौं १ का मतदाता देशकै प्रबुद्ध मतदाता भएको उल्लेख गर्दै सिंहले भने, ‘इलेक्ट्रोनिक भोटिङ हाम्रै क्षेत्रबाट शुरु भएको हो।’
नयाँ पार्टीले एक हप्तामा धान फलाउँछ?
नेता सिंहले नेपालमा नयाँ पार्टी आउँदा सबैभन्दा बढी खुसी कांग्रेस नै हुने भन्दै नयाँ पार्टीहरुले एक हप्तामै धान फलाउन नसक्ने जिकिर गरे।
प्रतिद्वन्दी विवेकशील साझाका उम्मेदवार रवीन्द्र मिश्रप्रति लक्षित गर्दै उनले नयाँ पार्टीहरूले असम्भव सपना देखाएको दाबी गरे।
उनले भने, ‘कांग्रेस बहुदलमा विश्वास गर्छ, नयाँ पार्टी आउनु ठिक हो, तर नयाँ पार्टीले एक हप्तामा धान फलाउने नारा दिएर हुन्छ? धान एक हप्तामा फल्छ? कांग्रेसले त्यति लामो दुःख गरेको पार्टीले त काम गर्न सक्ला र भनेर प्रश्न गर्ने अवस्थामा नयाँ पार्टीले के गर्न सक्ला?’