
काठमाडौं : नाजिर हुसेन र केकी अधिकारी स्टारर रोमान्टिक ड्रामा ‘राज्जा रानी’को प्रदर्शन मिति प्रिपोन्ड भएको छ। पूर्वनिर्धारित मितिबाट सिनेमा एक साता अगाडि प्रदर्शन हुन लागेको हो।
बितरकसँगको समझदारीपछि याम थापाले निर्देशित फिल्म पुस २१ गते देशव्यापी प्रदर्शन हुनेछ। उक्त मितिमा यो सिनेमा एक्लै रिलिज हुनेछ। निर्माण कम्पनी आर्यन फिल्म प्रोडक्सनले नयाँ रिलिज मिति घोषणासँगै रोमान्टिक गीत पनि लन्च गरेको छ।
दीपक शर्माको संगीत तथा राजेन्द्र थापाको शब्द रहेको ‘चिपक चिपक’ बोलको गीतको भिडियोमा केकी र नाजिर फिचर छन्। नेपालगंजको पठारमा छायांकन गरिएको यो रोमान्टिक गीतमा नरहरि प्रेमी र सुमिना लोको स्वर समावेश छ।
अघिल्ला फिल्ममा पहाडी विषयवस्तुमा कलम चलाएका निर्देशक एवं पटकथा लेखक थापाले पहिलो पटक मधेशी कन्टेन्टमा फिल्म निर्देशन गरेका छन्। प्रेमकथामा आधारित सिनेमालाई रमेश एमके पौडेलले निर्माण गरेका हुन्।