काठमाडौं : नेपाल प्रहरी क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत ५०औं राष्ट्रिय कराते च्याम्पियनसिपमा कूल ड स्वर्ण जित्दै टिम च्याम्पियन बनेको छ।
१९ स्पर्धा समावेश प्रतियोगितामा प्रहरीले दोस्रो दिन क्रबार ४ स्वर्ण थप्दै च्याम्पियन बनेको हो। पहिलो दिनपनि प्रहरीले ४ स्वर्ण नै जितेको थियो।
नेपाल कराते महासंघद्वारा आयोजना तथा सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा त्रिभूवन आर्मी क्लब ६ स्वर्णसाथ दोस्रो भयो। ४ स्वर्ण जितेको नेपाल एपीएफ क्लब तेश्रो बन्यो। विभागीय टोलीबाहेक स्वर्ण जित्नेमा मध्यमाञ्चल मात्र रह्यो। मध्यमाञ्चलले १ स्वर्ण मात्र हात पार्यो।
प्रतियोगिताको पुरुषतर्फ प्रहरीका रविन्द्र कार्की र महिलामा आर्मीकी कुसुम खड्का उत्कृष्ट खेलाडी घोषित भए। रविन्द्रले ६० केजी तथा कुसुमले ४५ केजीमा स्वर्ण जितेका थिए। उत्कृष्ट भएवापत दुवैले समान १०–१० हजार, ट्रयाकसुट र सुट प्राप्त गरे।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शुक्रबार भएको महिला ६१ केजीको प्रतिस्पर्धामा प्रहरीकी सुनिता महर्जन पहिलो भइन्। फाइनलमा सुनिताले आर्मीकी सनी लामालाई पराजित गरिन्। ६८ केजीमाथि आर्मीकी रिता कार्कीले फाइनलमा एपीएफकी कल्पना बस्नेतलाई हराउँदै पहिलो बनिन्। ६८ केजीमुनि एपीएफकी रोजी ओझाले स्वर्ण जितिन्। फाइनलमा रोजीले आर्मीकी विभूषा थापालाई हराइन्।
४० केजीमा मध्यमाञ्चलकी जिया खड्गीले स्वर्ण जित्न फाइनलमा प्रहरीकी एन्जिला धिमालको चुनौती पन्छाइन्। ४५ केजीमा आर्मीकी कुसुम खड्का पहिलो भइन्। प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएकी कुसुमले एपीएफकी वर्षा बुढा मगरलाई फाइनलमा हराइन्।
पुरुष ७५ केजीमा प्रहरीका गंगाराम कुसुवार पहिलो बने। उनले फाइनलमा मध्यमाञ्चलका किशोर लामालाई हराए। ८४ केजीमुनि एपीएफका भीम तामाङ पहिलो भए। उनले फाइनलमा प्रहरीका विप्लव श्रेष्ठमाथि जित दर्ता गरे। ८४ केजीमाथि प्रहरीका दिवस श्रेष्ठ च्याम्पियन बने। उनले फाइनलमा एपीएफका डिगम्बर पन्तलाई हराए।
५५ केजीमा प्रहरीका सोनाम लामाले उपाधि भिडन्तमा पूर्वाञ्चलका नवीन राईलाई पाखा लगाउदै पहिलो स्थान हात पारे। ६७ केजीमा एपीएफका विजय लामा पहिलो भए। उनले फाइनलमा मध्यपश्चिमाञ्चलका प्रकाश घर्ती मगरलाई पराजित गरे।
विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कराते महासंघका अध्यक्ष दावा गुरुङ, मुख्य प्रायोजक सम्झनाका उर्दिप जोशीले पुरस्कृत गरे। दुईदिने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीका १ सय ८४ खेलाडीले विभिन्न १९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।