PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

निर्वाचनमा गुमनाम र बदनाम मधेसका सात नेता



बीपी साह

निर्वाचनमा गुमनाम र बदनाम मधेसका सात नेता

काठमाडौं : देशैभरी चुनावी सरगर्मी बढेको बेला कुनै समय देशको राजनीतिमा चर्चाको शिखरमा पुगेका मधेशी नेताहरु अहिले गुमनाम भएर बसेका छन्। अधिकांश बदनाम पनि छन् भने केहीलाई राजनीतिक कारण नै गुमनाम हुनु परेको छ।

भरत विमल यादव 

नेपाल सद्भावना पार्टीका संस्थापक महासचिव

जनआन्दोलनमा सात दलीय गठबन्धनको एउटा घटक थियो नेपाल सदभावना पार्टी (आनन्दीदेवी)। आनन्दीदेवी अध्यक्ष भए पनि पार्टीको बागडोर वरिष्ठ उपाध्यक्ष भरत विमल यादवले सम्हालेका थिए। उनी पनि आन्दोलनमा होमिएका थिए।

यादव नेपाल सद्भावना पार्टीका संस्थापक महासचिव हुन्। बद्री मण्डलले नेपाल सद्भावना पार्टीलाई राजा ज्ञानेन्द्रको पक्षमा लगेपछि सद्भावना आनन्दी देवीको गठन भएको थियो।
 
मधेश राजनीतिमा निकै चतुर खेलाडीका रुपमा चिनिएका यादव अहिले गुमनाम छन्। सद्भावना पार्टीमा राजेन्द्र महतो तथा हृदयेश त्रिपाठीहरु हावी भएपछि उनी एक्लिएका थिए। त्यसपछि उनी स्वतन्त्र बस्दै थिए। 

केही दिनअघि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरे पनि उनी पुनः पार्टी परित्याग गरी स्वतन्त्र रुपमा बसेका छन्। अहिलेको निर्वाचनमा उनी निष्कृय छन्।

भाग्यनाथ प्रसाद गुप्ता

नेपाल सद्भावना परिषद्का संस्थापक सदस्य


नेपाल सद्भावना पार्टी निर्माण हुनुअघिको सांस्कृतिक समूह नेपाल सद्भावना परिषद्का संस्थापक मध्येका एक भाग्यनाथ प्रसाद गुप्ता पनि अहिले गुमनाम छन्। पहिलो मधेश आन्दोलनमा मधेशी जनअधिकार फोरम नेपालको उपाध्यक्ष रहेका गुप्ताले उपेन्द्र यादवले सरकारसँग २२ बुँदे सहमति गरे पछि उनले विरोध गरेका थिए।
 
गुप्ताले यादवको विरोध गर्दै पार्टी विभाजन गरी मधेशी जनअधिकार फोरम (मधेश) स्थापना गरी आन्दोलन जारी राखेका थिए। अहिले पनि गुप्ता सो पार्टीका अध्यक्ष हुन्।
 
समग्र मधेश एक प्रदेश, आत्म निर्णयको अधिकार र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै गुप्ताले स्थानीय निकायको निर्वाचनसहित प्रतिनिधि र प्रदेश सभाको निर्वाचनसमेत बहिस्कार गरेका छन्।
 
स्थानीय निकायको निर्वाचनमा उनको बहिष्कारको असर पर्न नसके पछि उनी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा झनै गुमनाम भएका छन्।

श्यामसुन्दर गुप्ता

पूर्वमन्त्री


मधेश राजनीतिमा अर्का चर्चित नाम हो श्यामसुन्दर गुप्ता। नेपाल सद्भावना पार्टीबाट राजनीतिक सुरु गरेका गुप्ता मन्त्रीसमेत भए। दवंग छविका गुप्ता मन्त्री हुँदा सद्भावना पार्टी कै नेताहरुलाई अपहरण गरी मन्त्री निवास मै कुटपिट गरेको आरोप लागेको थियो। पछिल्लो पटक व्यापारी पवन संघाईको अपहरण काण्डमा जेल बसेर बाहिरिएका थिए उनी।
 
तर बाहिरिएको केही दिनमै पुनः पूर्व डिआइजी रञ्जन कोइरालाकी प्रेमिकासँग रकम असुल्ने प्रयास गरेको भन्दै पक्राउ परे। तर उनी पुनः छुटेका छन्। प्रतिनिधि सभाको निर्वाचनमा उठ्ने तयारी गरे पनि निर्वाचन आयोगले उनी नेतृत्वको नेपाल सद्भावना पार्टी (युनाइटेड)लाई खारेज गरेको छ जसकारण उनी चुनावमा उठ्न सकेनन्। अहिले गुमनाम भएर बसेका छन्।

अमर यादव

संस्थापक अध्यक्ष, तराई मधेश फोरम

मधेशी जनअधिकार फोरम नेपालको महाधिवेशनमा उपेन्द्र यादवविरुद्ध अध्यक्ष पदमा उम्मेदवारी दिएका अमर यादव पनि अहिले गुमनाम छन्। महाधिवेशनमा विवाद भएपछि यादवले पार्टी विभाजन गर्दै तराई मधेश फोरम गठन गरेका थिए। केही दिन चर्चामा रहे पनि यादवको पार्टी स्थापित हुन सकेन। त्यसपछि उनी रौतहटमा रहेको आफ्नो पैतृक गाउँमा भैंसीपालन गर्दै बसेका छन्। स्थानीय निकायको निर्वाचनअघि पुनः उनी फोरम नेपालमा प्रवेश गरेका छन्। तर निर्वाचनमा सक्रिय देखिएका छैनन्।

किशोर विश्वास

फोरमका संस्थापक उपाध्यक्ष

स्व.गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीको विद्यार्थी संगठन ‘विद्यार्थी मञ्च’बाट राजनीति थालेका किशोर विश्वास मधेशी जनअधिकार फोरम नेपालका संस्थापक उपाध्यक्ष हुन् । तर उनी पछिल्लो राजनीति घटनाक्रममा गुमनाम छन्। मधेश राजनीतिमा सक्रिय हुन खोजे पनि उनलाई बारम्बार पछि हट्नु परेको छ। 

केही साना संगठनहरुलाई एकीकृत गर्ने प्रयास गरे पनि विश्वास असफल रहेका छन् । तर राजनीतिमा पुनः सक्रिय हुने विश्वास बताउँछन्। 

जेपी गुप्ता

पूर्वमन्त्री


नेपाली कांग्रेसबाट राजनीति थालेका जयप्रकाश प्रसाद गुप्ता (जेपी गुप्ता) पनि मधेश राजनीतिमा आएर निकै चर्चामा थिए। मधेशी जनअधिकार फोरम नेपालका उपाध्यक्षसमेत रहिसकेका गुप्ताले पहिलो संविधान सभाको अन्तिमतिर पार्टी विभाजन गरी मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) गठन गरेका थिए।
 
गुप्ता सूचना तथा सञ्चार मन्त्री रहेकै बेला भ्रष्टाचार मुद्दामा जेल परे। उनी जेल परेपछि उनको मन्त्रालय सोही पार्टीका उपाध्यक्ष राजकिशोर यादवले पाए भने केही दिनमा यादवले पार्टी पनि कब्जा गरे। त्यसपछि गुप्ता तराई मधेश राष्ट्रिय अभियान सञ्चालन गरेर बसेका थिए। तर पछिल्लो निर्वाचनमा सो अभियान पनि सक्रिय छैन। गुप्ता सप्तरीमा कृषि कर्म गरेर बसेका छन्। अहिलेको निर्वाचनमा उनी मौन जस्तै छन्।

बद्री मण्डल

पूर्वमन्त्री


नेपाल सद्भावना पार्टीका संस्थापक नेता मध्येका एक बद्री मण्डल मधेश राजनीतिमा बदनाम नेता हुन्। जनआन्दोलन ताका नेपाल सद्भावना पार्टीलाई राजाको समर्थनमा खडा गरेपछि मण्डललाई मधेशी जनताले मन पराउन छाडेका थिए। राजासँग गएपछि उनको राजनीतिक छवि नै समाप्त भयो।

दोस्रो संविधान सभाको निर्वाचनअघि मण्डल पुनः राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा फर्किएका थिए। अहिले पनि उनी राजपामा छन्।
मोरङको क्षेत्र नम्बर ५ बाट उनी प्रतिनिधि सभाका उम्मेदवार बनेका छन्। उनी पार्टीको वरिष्ठ नेता रहे पनि चर्चामा छैनन्। पार्टीभित्र पनि उनले आफ्नो छविलाई सुधार गर्न सकेका छैनन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell