PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

बंगलादेशमा रोहिंगा शरणार्थीको संख्या छ लाख १३ हजार- आइओएम



पहिलोपोस्ट

बंगलादेशमा रोहिंगा शरणार्थीको संख्या छ लाख १३ हजार- आइओएम

जेनेभा : आप्रवासनसम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था आइओएमले बंगलादेश पुगेका म्यान्माली शरणार्थी रोहिंगाको संख्या छ लाख १३ हजार पुगेको जनाएको छ।

गएको अगष्ट २५ देखि म्यानमारको राखिन राज्यमा शुरु भएको हिंसाका कारण देश छाड्ने शरणार्थीको संख्या छ लाख नाघेको हो।

उनीहरु बंगलादेशको कोक्स् बजारमा बसोबास गरिरहेका छन्। बंगलादेश सरकारले सो क्षेत्रमा शरणार्थी शिविरहरु बनाइदिएको छ।

शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा आइओएमका प्रवक्ता जोल मिलम्यानले सो जानकारी दिएको हो। उनले शरणार्थीको अवस्था अत्यन्तै कष्टकर रहेको बताए।

यसका लागि विश्व समुदायसँग आग्रह भए पनि शरणार्थीले सहयोग पाउन नसकेको गुनासो मिलम्यानले पत्रकार सम्मेलनमा गरेका थिए।

बालबालिकाको अवस्था टिठ लाग्दो देखिएको, पोषणयुक्त खानेकुराहरु नभएको र औषधी उपचारको समेत कमी हुने अवस्था देखिएको पनि उनले बताए।

सडकको अभावका कारण आवश्यक सहायता सामाग्री पुर्‍याउन गाह्रो भएको अनुभव उनले व्यक्त गरेका थिए।

राष्ट्रसंघको सहयोगमा बालबालिकालाई खोप

उक्त शिवीरमा रहेका शरणार्थी बालबालिकाका लागि संयुक्त राष्ट्रसंघ र बंगलादेश सरकारले खोप कार्यक्रम सञ्चालन गर्ने भएका छन्।

शरणार्थी बालबालिकाको अवस्था दिनप्रतिदिन कष्टकर बन्दै गएको र उनीहरुलाई खोप तथा औषधी उपचारको व्यवस्था नरहेको बताइएको छ।

पछिल्लो समयमा यहाँका बालबालिका निमोनिया र झाडापखालाले ग्रसित भएका समाचार आएको थियो। बालबालिकाको अवस्था सुधारका लागि संयुक्त राष्ट्रसंघीय बालकोष र बंगलादेश सरकारले दादुराको खोप दिने व्यवस्था गरिएको छ। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell