
चितवन : पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि कम्युनिष्टको बहुमत सरकार बन्ने र राजनीतिक स्थिरता कायम हुने बताएको छ।
चितवन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका अध्यक्ष दाहालले आज पश्चिम चितवनको शिवनगरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै जनताले चाहेको कुरा यस चुनावले पूरा हुन लागेको बताए।
“दशकौँदेखि नेपाली जनताले कम्युनिष्ट मिलेर काम गरुन् भन्ने चाहे पनि कम्युनिष्ट विभाजन हुने र त्यो विभाजनको फाइदा दक्षिणपन्थीले लिने गरेका थिए,” उनले भने- “फुटाउ र राज गर भन्ने साम्राज्यवादी रणनीति अनुसारको जुन परम्परा २०१९ सालदेखि चल्दै आएको थियो, यस पटक हामीले त्यो इतिहासलाई बदल्ने छौँ, यो सबै नेपालीका निम्ति खुसीको कुरा हो।”
अहिलेको वाम गठबन्धन चुनावका लागि मात्रै नभई कम्युनिष्ट एकताका लागि भएको उनको भनाइ थियो। एउटा बलियो कम्युनिष्ट केन्द्र बनाउने योजनाका साथ पार्टी एकता संयोजन समिति निर्माण गरेर अगाडि बढेको अध्यक्ष दाहालले बताए।
“देशको स्थायी शान्ति र समृद्धिका लागि कम्युनिष्ट एक भएको हो,” उनले भने।
यसअघि गौचरणका सुकुम्वासीसँग अन्तक्रिया गर्दै अध्यक्ष दाहालले १० वर्षमा दशौँ सरकार फेरिए पनि विकासको रंग फेरिन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए। मुलुकमा राजनीतिक स्थिरता र विकासको युग आरम्भ हुन लागेको उनको भनाइ थियो। निर्वाचनपछि बन्ने स्थिर सरकारले सबै समस्या समाधान गर्ने उनले प्रतिबद्धता जनाएका थिए। रासस