
काठमाडौं : एसीसी यू-१९ युथ एसिया कपको पहिलो खेलमा नेपाल यू-१९ टोली बंगलादेश यू-१९ सँग पराजित भएको छ। दुई पटक वर्षाले प्रभावित भएको खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको हो।
वर्षाका प्रभावित खेलमा १८१ रनको टार्गेट पाएको बंगलादेशले १ बल अगावै ८ विकेट गुमाएर पूरा गर्दै विजयी शुरुवात गरेको हो।
निर्धारित समयभन्दा करिब २ घण्टा ढिला शुरु भएको खे लशुरुमा ४३ ओभरमा छोट्टाइएको थियो। तर नेपालले ४३ ओभर खेल्न पाएन। नेपालले ४०.१ ओभरमा १६७ रन बनाउँदा फेरी पानी परेपछि खेल रोकिएको थियो र नेपालको इनिङ्स समाप्त भएको थियो।
त्यसपछि बंगलादेशले ४० ओभरमा १८१ रनको नयाँ लक्ष्य पाएको थियो।
एक समय नेपाल जित नजिक पुगेपनि खेलको अन्त्यतिर नेपाल सम्हालिन सकेन भने बंगलादेशले कुनै हतार नगरी खेल जित्यो।
३९औँ ओभरमा नेपालका किशोर महतोले ४ रन मात्र दिएर २ रन लिँदै नेपाललाई जितको होडमा राखेका थिए।
बंगलादेशलाई जितका लागि अन्तिम ओभरमा १० रन चाहिएको थियो। नेपालका कमल सिंह ऐरीले महिदुल इस्लामलाई आउट गर्दै खेल नेपालको पक्षतिर डोहवर्याएका थिए। तर दोस्रो बलमा नहिम हसन र चौथो बलमा रोबिउल हकले चौका प्रहार गरेपछि बंगलादेश विजयी भयो।
नेपालको लागि सन्दीप लामिछाने र कमल सिंह ऐरीले समान २ विकेट लिए।
जितपछि बंगलादेशले समूह ए मा २ अंक जोडेको छ।
बंगलादेशको जितमा नइम शेखले सर्वाधिक ५२ रन बनाए भने अफिफ होसेन ध्रुबोले ३३,पिनाक घोषले २४ तथा महिदुल इस्लामले २३ रनको योगदान गरे।
जितमा महत्वपूर्ण योगदान गरेका बलरद्वय हसन र हक समान ५ रनमा नटआउट रहे।
त्यसअघि किनरारा मैदानमा टस हारेर पहिले ब्याटि गरेको नेपालले पानी पर्नुअघि ४०.१ ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो।
नेपालका लागि भिम शार्कीले सर्वाधिक ४४ रन बनाए। ४४ बल खेलेका भिमले २ चौका र ३ छक्का प्रहार गरे। यस्तै रोहित कुमार पौडेलले ४० तथा ओपनर आसिफ शेखले ३० रन जोडे। अनिल कुमार शाहले १९ रन बनाए।
७० रन बनाउदा ४ विकेट गुमाएको नेपालका लागि भिम र रोहितले पाँचौ विकेटका लागि ८० बलमा ७९ रनको साझेदारी गरेका थिए।
बंगलादेशका लागि नयिम हसनले सर्वाधिक ३ विकेट लिए।
समूह बी अन्तर्गत शनिबार भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६२ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ।