
मोरोक्को सन् १९९८ पछि पहिलो पटक विश्वकप फुटबलमा छनोट भएको छ। अफ्रिकी छनोट अन्तर्गत समूह डी'को अन्तिम खेलमा आइभरीकोष्टलाई २-० ले हराउँदै मोरोक्को अर्को वर्ष रुसमा हुने विश्वकपका लागि छानिएको हो।
मोरोक्कोका लागि नवि दिरार र मेहदी बेनाटियाले १-१ गोल गरे। यता हारपछि आइभरीकोष्ट भने विश्वकप खेल्नबाट बन्चित भएको छ। मोरोक्कोले समूह सी'मा अपराजित रहदै १२ अंक जोड्दा आइभरीकोष्टले भने ८ अंक मात्र जोड्न सक्यो।
यस्तै ट्युनिसिया समूह एु'को विजेता बन्दै विश्वकपमा छनोट भएको हो। अन्तिम खेलमा लिबियासँग गोलरहित बराबरीमा रोकिए पनि ६ खेलबाट अपराजित रहदै १४ अंक जोडेको ट्युनिसिया डिआर कंगोलाई १ अंकले पछि पार्दै समूह विजेता बनेको हो।
मोरोक्को र ट्युनिसिया छनोट भएपछि अफ्रिकाबाट विश्वकप खेल्ने ५ वटै टिमको छिनोफानो भएको छ। यसअघि नै नाइजेरिया, इजिप्ट र सेनेगल छनोट भइसकेका छन्।
सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलका लागि अहिलेसम्म कूल २६ टोली छनोट भइसकेका छन्। अब युरोपियन प्लेअफबाट ४ र अन्तरमहादेशीय प्लेअफबाट २ गरी ६ टोली छनोट हुन बाँकी छन्।