PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

पर्सामा तीन सांसदकै गाउँको पुल ८ वर्षसम्म बनेन, मतदाता भन्छन् 'भोट माग्ने अधिकार गुमाए'



राधेश्याम पटेल

पर्सामा तीन सांसदकै गाउँको पुल ८ वर्षसम्म बनेन, मतदाता भन्छन् 'भोट माग्ने अधिकार गुमाए'

वीरगंज: पर्सा क्षेत्र नं ४ का मतदाताहरुले अगामी निर्वाचनमा विकास नगर्ने नेतालाई मत नहाल्ने बताएका छन्। विकासको नाममा पर्साबाट जितेर गएका नेताहरुले जनताको मनोभावनासँग खेलवाड गरेको भन्दै आसन्न निर्वाचनमा ती नेताहरुलाई बहिस्कार गर्न आग्रह गरेका छन्।

पर्सा क्षेत्र नं ४ का बासिन्दा तथा समाजिक अभियन्ता प्रकाश थारुले विकासको कार्यमा खेलवाड गरी काठमाडौंमा मोजमस्ती गर्ने नेताहरुलाई यसपालीको निर्वाचनमा भोट नदिन सम्बिन्धित क्षेत्रका मतदातासँग उनले आग्रह गरेका छन्। जनतालाई विजोगमा पारेर फेरि भोट माग्न आउने ती नेताहरुलाई दण्डित पार्ने मौका यही भएकोले उनीहरुलाई मत नहाल्न उनले आग्रह गरे।

‘पर्साका तीन सांसदको गाउँलाई जोड्ने भलुवहिया पुल त नेताहरुले बनाउन सकेन, अब कुन विकास गर्न खोजेका हुन्’ उनले प्रश्न गरे,‘फेरि तिनै नेताहरु भोट माग्दैछन्, यसपाली उनीहरुलाई जनताले कडा सजाय दिनुपर्छ।’

भलुवहिया खोलामा निर्माणधीन पुल विगत आठ वर्षदेखि बन्दैछ। तर हालसम्म पुलको काम पूरा हुन नसकेकोले उनीहरुले भोट माग्ने अधिकार गुमाएको उनको तर्क छ। भलुवहिया खोलाको पुल पर्साका तीन सांसदको गाउँलाई जोड्ने गर्छ। पर्साका कांग्रेस सांसद सुरेन्द्रप्रसाद चौधरी, एमाले सांसदद्वय जयप्रकाश थारु र नागेन्द्र चौधरीको गाउँ नजिकै भलुवहिया खोलाको पुल विगत ८ वर्षदेखि अपलत्र छ।

कांग्रेस सांसद चौधरी साविक क्षेत्र नं ४ का प्रत्यक्ष निर्वाचित सांसद् हुन भने हाल उनी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्दैछन्। जयप्रकाश थारु साविक क्षेत्र नं ५ का एमालेबाट निर्वाचित प्रत्यक्ष सांसद हुन। उनी अहिले क्षेत्र नं ४(क) प्रदेशसभा तर्फ उम्मेदवारी दिएका छन्। एमालेका अर्का समानुपातिक सांसद तथा पोलिटव्यूरो सदस्य नागेन्द्र चौधरी अहिले प्रदेशसभा सदस्य तर्फ क्षेत्र नं ३ को १ का उम्मेदवार बनेका छन्। नागेन्द्र र सुरेन्द्रको गाउँ हालको पटेर्वासुगौली वडा नं ४ पर्ने सुगौली हो भने जयप्रकाशको गाउँ हालको जिराभवानी गाउँपालिका वडा नं ४ जीतपुर हो। भलुवहिया खोला पटेर्वासुगौली–शंकरसरैया गाउँलाई जोड्छ।

सो क्षेत्रका मतदाताहरुले चुनावकै बेला निर्माणधीन पुलको मुद्दा उठाएर कडा आलोचनामा सक्रिय छन्। उनीहरुले चुनावको बेला राज्यको ध्यान र जिम्मेवार राजनीतिक दलको ध्यान पर्साको ग्रामीण भेगको विकाससँग पनि जोड्न खाजेका हुन्।


ठेकेदार पनि कहाँ कम छन् र?

ठेकेदार र स्थानीय नेताको कारणले पुलको काम पूरा नभएको सडक डिभिजनका अधिकारीहरुले आरोप लगाएका छन्। मध्यमाञ्चल क्षेत्रीय सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख कमलेश कर्णका अनुसार ठेकेदार कम्पनी वाइपी-मोना कन्सट्रक्शन जेभीको चरम लापारबाहीले गर्दा काम तोकिएको समयमा पूरा नभएको हो।

‘एक त ठेकेदारले काम गरेन,त्यसमा पनि स्थानीय नेताहरले पुलको लम्बाई बढाउनु पर्ने माग राख्दै तीन वर्ष काम ठप्प पारे’ उनले भने, ‘कसरी पूरा हुन्छ काम।’ पर्साको उत्तरी भेगको थारु बाहुल क्षेत्रलाई जोड्ने पुलको काम नै आझेलमा पर्दा हजारौँ जनतालाई दुख भोग्नु परेको पर्सावासीको भनाई छ। ६३ मिटर लम्बाई भएको पुलको काम आठ वर्षमा जम्मा ६६ प्रतिशत सकिएको योजना हेर्ने इन्जिनियर नरेश केशरीले बताए। करिब १ करोड ९० लाखको लागतमा ३ स्पानको ६३ मिटर लामो पुल बनाउने योजना थियो। तर पुलको डिजाइनको विषयलाई लिएर स्थानीय नेताहरुले नै लम्बाई बढाउन माग गर्दै आन्दोलन गरेपछि काम तीन वर्षको लागि ठप्प भएको उनले बताए।

दोस्रो पटक सल्लाहकार कम्पनी र योजना आयोगका प्रतिनिधिहरुले अनुगमन गरी डिजाइन गरेपछि पुलको काम सुरु भएको थियो। तर ठेकेदार कम्पनीले काममा अति नै ढिलाई गरेको उनको ठहर छ। ठेकेदारले करिब एक करोडको भुक्तानी पनि पाइसकेको छ। तर पनि काममा चासो नदेखाएको उनले आरोप लगाए। ‘ठेकेदार कम्पनीलाई म्याद माथि म्याद थपेका छौँ, कति पटक चिठी लेख्यौँ तर ठेकेदारले,कसैको कुरा सुनेन,’ उनले भने।

ठकेदार कम्पनीका एक साझेदार मोनो कन्सट्रक्शनका मुकेश चौरसियाले पुलको डिजाइनमा आएको जटिलताले कारण पुलको काममा ढिलाई भएको दाबी गरे। उनले गत साउनको भीषण बाढी आउनुभन्दा अगाडि पुलको बाँकी काम गर्न काम सुरु गरेता पनि बाढीले स्ल्याब ढलान र अन्य कार्यमा क्षति पुर्‍याएको बताए। अगामी ६ महिनाभित्रै पुलको काम पूरा गराउने उनले आश्वासन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell