
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र रुसका सेनाले गरेको संयुक्त सैन्य समन्वय तथा कारबाहीबाट सिरियामा केही प्रगति भएको बताएको छ।
भियतनाममा भएको एपेकको सम्मेलनपछि सोही स्थानमा छोटो भेटपछि जारी गरिएको वक्तव्यमा सो कुरा बताइएको हो।
उक्त बक्तव्यमा जनाइएअनुसार यी दुई देशका सेनाले गरेको समन्वयात्मक कारबाहीबाट सिरियामा धेरै आइएसका लडाकू मारिएका छन्। हाल त्यहाँ आइएसका गतिविधिहरु पहिलेको तुलनामा कम भएको विश्लेषण यी दुई देशको छ।
विज्ञप्तिमा सिरियामा जारी सैन्य कारबाही मात्र भने त्यहाँको समस्या समाधानको विकल्प नभएको पनि स्पष्ट गरिएको छ।
दुवै देशका नेताहरुद्वारा जारी गरिएको उक्त संयुक्त विज्ञप्तिमा भनिएको छ– सिरियामा जारी सैन्य कारबाही समस्याको समाधान होइन, समाधानका लागि त राजनीतिक निकास नै चाहिन्छ।
सिरियामा हाल जारी हिंसाको अन्त्यका लागि अरु केही हुन सकेन भने पनि यसको विकल्प भनेको यसअघि संयुक्त राष्ट्रसंघले अघि सारेको प्रस्ताव नं २२५४ बमोजिमको निकास निकाल्नुपर्दछ।
उक्त प्रस्तावमा संयुक्त राष्ट्रसंघको नेतृत्वमा सिरियामा आम निर्वाचन र त्यसपछिको अवस्थामा संविधानमा संशोधन वा सुधार गरी यहाँबाट भागेर शरणार्थीका रुपमा विभिन्न देशमा रहेका सिरियालीलाई सकुशल घर फर्काउनुपर्छ।
सिरियामा गएको पाँच वर्षभन्दा लामो समयदेखि हिंसा जारी छ। हिंसाका कारण साढे दुई लाखभन्दा बढी नागरिकको ज्यान गएको छ। सुरुको राजनीतिक हिंसा हाल आएर गृहयुद्धमा परिणत भएको छ।
तर शान्ति स्थापनाको प्रयास भने हुन सकेको छैन। यसअघि भएका कैयौँ शान्तिवार्ताहरु तथा पछिल्लो समयमा भएको जेनेभा वार्ता पनि शान्ति स्थापनाको काममा सफल हुन सकिरहेको छैन।
यसअघि सिरिया समस्याको समाधानका लागि संयुक्त राज्य अमेरिका र रुसको संयोजकत्वमा विभिन्न समिति निर्माणका साथै सैन्य परिचालन लगायतका प्रयासहरु भएका थिए। रासस