PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

उम्मेदवारलाई समस्याको चाङ देखाउँदै मतदाता



पहिलोपोस्ट

पर्वत : आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि दलका उम्मेदवार यतिबेला प्रचारप्रसारमा सक्रिय छन्।

सदरमुकामभन्दा गाउँमा चुनावी चहलपहल बढेको छ। दैनिक हुने कोणसभा, घरदैलो, आमसभाजस्ता गतिविधिले गाउँमा चुनावी चहलपहल बढेको हो।

जिल्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दुई जना र प्रदेश सभा सदस्यका उम्मेदवार चार जनाले फरकफरक ठाउँमा गर्दै आएको कार्यक्रमले ग्रामीण क्षेत्रमा चुनावी रौनकता बढाएको छ।

वाम गठबन्धनबाट पदम गिरी र लोकतान्त्रिक गठबन्धनबाट अर्जुनप्रसाद जोशी प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन। प्रदेश सभा ‘क’ मा वाम गठबन्धनबाट नेत्र अधिकारी र लोकतान्त्रिक गठबन्धनबाट नवराज गुरुङ तथा प्रदेश सभा ‘ख’ बाट वाम गठबन्धनबाट विकास लम्साल र लोकतान्त्रिक गठबन्धनबाट राजेन्द्र तिवारी उम्मेदवार रहेका छन्। उनीहरुले तालिकाअनुसार फरकफरक ठाउँमा दैनिक चुनावी गतिविधि सञ्चालन गरिरहेका छन्।

उम्मेदवार गाउँ पुग्दा मतदाताले आफ्ना समस्याको चाङ भिराउने गरेका छन्। उनीहरुले सडक, बिजुली, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि क्षेत्रका समस्या समाधानका लागि योजना माग गर्ने गरेका छन्।

“मतदाताले ठूला खालका योजना माग गरेका छन्,” वाम गठबन्धनका उम्मेदवार गिरीले भने। चुनावमा विजय प्राप्त गरे वा नगरे पनि स्थानीयवासीका समस्या समाधान गर्न पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

जिल्लामा यही कात्तिक २२ गतेदेखि राजनीतिक दलले चुनावी प्रचारप्रसार अभियान थालेका हुन्। जिल्लाका सात स्थानीय तहका ६१ वटै वडामा कार्यक्रम तय गरेर उम्मेदवारहरु अभियानमा जुटेका छन्।

कांग्रेस र एमालेले आठ/आठ वडामा आफ्नो कार्यक्रम सम्पन्न गरिसकेका छन्। उम्मेदवारले वडाअनुसार कार्यक्रम र घरदैलो कार्यक्रमको तालिका बनाएका छन्।

मतदाताले आआफ्नो गाउँसम्म पुग्ने सडक कालोपत्र तथा बाह्रैमास सवारीसाधन चल्ने बनाउन उम्मेदवारसँग माग गरेका छन्। गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, सिँचाइलाई प्राथमिकतामा राखेर योजना बनाएको कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जोशी बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell