
- बी.साह
त्यसो त अस्तित्व रक्षाका लागि प्रमुख दलले मधेशी–पहाडी भाइ–भाइको नारा लगाउँदै आएका पनि छन्। मधेशमा आन्दोलन जारी रहँदा एमाले अध्यक्ष केपी शर्माले ओलीले मधेशबाट पहाडी नेता र पहाडबाट मधेशी नेतालाई चुनावमा उठाउने घोषणा गरेका थिए।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रचण्ड पनि पहाडबाट मधेशी नेतालाई चुनाव जिताएर देखाउने दाबी गरेका थिए।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कोर मधेशबाट नेपाली कांग्रेस र वाम गठबन्धनले दर्जनौं पहाडी नेताहरुलाई उम्मेदवार बनाएका छन्। उनीहरुलाई पार्टी बलियो भएको स्थानबाट उम्मेदवार बनाइएको छ ता कि चुनावमा विजयी झन्डा फहरियोस्।
यसको ठीक विपरित पहाडबाट एउटा पनि मधेशीलाई उम्मेदवार बनाइएको छैन। यहाँसम्म कि दुई नम्बर प्रदेशमा पहाडी समुदायको बहुल्यता बढेका क्षेत्रमा मधेशी अनुहारले ठाउँ पाएको छैन। औशतमा २० प्रतिशत पहाडी मतदाता भएका स्थानमा पनि कांग्रेस र वाम गठबन्धनले पहाडी उम्मेदवार नै खडा गरेका छन्।
नेपाली कांग्रेसले सिरहा एकबाट प्रदीप गिरि र दुईबाट अमर रेग्मीलाई उम्मेदवार बनाएको छ। त्यस्तै, धनुषा एकबाट आनन्दप्रसाद ढुंगाना, महोत्तरी एकबाट सीताराम भण्डारीलाई कांग्रेसले उम्मेदवार बनाएको छ।
सर्लाही एकबाट शम्भुलाल श्रेष्ठ, रौतहट चारबाट देवप्रसाद तिम्सिनालाई कांग्रेसले उम्मेदवार बनाएको छ। अर्थात् दुई नम्बर प्रदेशको प्रतिनिधि सभाको ३२ सिट मध्ये कांग्रेसले ३० सिटमा उम्मेदवार उठाएको छ जसमा ६ वटा सिटमा पहाडीलाई उम्मेदवार बनाएको छ।
यता वाम गठबन्धनले पनि सिरहा दुईबाट लीलानाथ श्रेष्ठ (एमाले), महोत्तरी एकबाट गिरिराजमणि पोखरेल (माओवादी), सर्लाही एकबाट ध्रुवप्रसाद गौतम (एमाले)लाई उम्मेदवार बनाएको छ।
यसैगरी बारा तीनबाट उदयानन्द पाण्डे(एमाले) र बारा एकबाट अच्युतप्रसाद मैनाली(एमाले)ले उम्मेदवार बनाएको छ। अर्थात् वाम गठबन्धनले दुई नम्बर प्रदेशको ३२ सिट मध्ये पाँच सिटमा पहाडी उम्मेदवार उठाएको छ।
रोचक के छ भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले पनि धनुषा क्षेत्र नम्बर एकबाट पहाडी नेतालाई उम्मेदवार बनाएको छ। नेपाली कांग्रेस परित्याग गरी फोरममा प्रवेश गरेका दीपक कार्कीलाई फोरमले उम्मेदवार बनाएको हो।
अर्कोतिर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले पनि पहाडी बाहुल्य भएको क्षेत्र छाडेर यस पटक कोर मधेशको महोत्तरी दुईबाट उम्मेदवारी दिएका छन्।
मधेशी भूमिमा पहाडीमुलका उम्मेदवारको संख्या धेरै भए पनि मधेशी जनसंख्या कम भएको मुलुकको बाँकी भुगोलमा कुनै पनि ठूला राजनीतिक दलले मधेशी मुलका उम्मेदवारलाई ठाउँ दिएका छैनन्। राजनीतिक दलले पहाडी(मधेशी भाइभाइको नारा लगाए पनि व्यवहारमा सबै राजनीतिक दलको भनाइ र गराईमा गहिरै अन्तर देखिएको छ।