
काठमाडौं : नेपाल तथा संयुक्त अरब इमिरेट्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको छ। दुई मुलुकबीचको सम्बन्धलाई प्रगाढ बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुने भ्रमणले थप सहयोग पुग्ने परराष्ट्र मामिलाका अधिकारीले जनाएको छ।
राष्ट्रपति भण्डारी युएईको अबुधावीका युवराज तथा त्यहाँका सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा औपचारिक भ्रमणमा कात्तिक २७ गते सोमबार त्यसतर्फ जान लागेकी छन्।
नेपाल तथा युएईले सन् १९७७ को जनवरी २२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका हुन्। नेपालले सन् २००४ अप्रिल ११ मा अबुधावीमा कार्यवाहक राजदूत स्तरमा आवासीय दूतावास स्थापना गरेको थियो।
दुवै मुलुक संयुक्त राष्ट्र सङ्घ तथा असंलग्न आन्दोलनका सदस्य भएको र अन्तर्राष्ट्रिय मामिलामा समान धारणा व्यक्त गरिरहेको अवस्थामा आपसी सद्भावना तथा सहयोगमा आधारित हार्दिक तथा मैत्रीपूर्ण सम्बन्ध रहेको छ।
राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा उनकी छोरी निशाकुसुम भण्डारी, आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारी साथै सञ्चार माध्यमका प्रतिनिधिहरु रहनेछन्।
भ्रमणले यी दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने धारणा राष्ट्रपतिका सञ्चार सल्लाहकार माधव शर्माले व्यक्त गरे। उनले यस भ्रमणबाट दुई मुलुकबीच श्रम, सीप तथा लगानीको क्षेत्र विस्तार गर्न निकै सहयोग पुग्ने बताए।
राष्ट्रपति भण्डारी यही कात्तिक ३० गते स्वदेश फर्कनेछ। रासस