
काठमाडौं : महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य अधिकारलाई मौलिक हकमा व्याख्या गरिएकाले प्रहरीले सो अस्पताल नागरिकका लागि खुला गरेको स्पष्ट पारे।
उनले भने, ‘‘सर्वसाधारणका शान्तिसुरक्षा कायम गर्नुका साथै स्वास्थ्यमा पनि हाम्रो जिम्मेवारी हो, यसले जनतासँगको सम्बन्ध मजबुत र विश्वासिलो हुनेछ, अस्पतालबाट गरिने हेरचाह र व्यवहार यसको पृष्टि गर्नेछ।’’
नागरिकलाई सेवा दिन थालेपछि सेवा पाउँदै आएका नेपाल प्रहरीका बहालवाला कर्मचारी, सहीद परिवार, पूर्वप्रहरी र उनीहरुका आफन्त तथा आश्रित परिवारले पाउँदै आएको सेवामा कुनै असर पर्न नदिन उनले बताए।
अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले अपराह्न १ देखि ३ बजेसम्म बहिरङ्ग सेवा सर्वसाधारणका लागि दिइने बताउँदै अन्य सरकारी अस्पतालले दिँदै आएको शुल्ककै वरपर रहेर प्रयोगशाला, शल्यक्रियालगायत सबै सेवा प्रदान गरिने जानकारी दिए।
अस्पतालमा जनशक्ति तथा भौतिक स्रोतसाधन थप गरेर सर्वसाधारणलाई पनि सेवा दिन लागिएको बताउँदै निर्देशक पोखरेलले भने, ‘‘हामीले अत्याधुनिक ल्याब स्थापना गरिसकेका छौँ, अस्पतालको श्यया थप्ने प्रक्रिया अघि बढिसकेको छ।’’
अस्पतालमा उपचारका लागि जाने सर्वसाधारणले ५० को टिकट काट्नुपर्छ। औषधी तथा भर्ना हुने बिरामीका लागि खाना शुल्क विषयमा पनि प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसँग छलफल गरी चाँडै टु्ंगो लगाइने बताइएको छ। तत्कालका लागि आकस्मिक बिरामीका लागि आठ श्यया, महिला पु्रुषका लागि १०/१० श्यया र शल्यक्रियापछि राख्नका लागि चार श्यया छुट्याइएको छ।
पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सैनिक र प्रहरी अस्पताल सर्वसाधारणका खुला गर्नु पर्ने प्रयासअघि बढाएको थियो।
उक्त अस्पतालमा दैनिक पाँच सयदेखि हजार बिरामीले बहिरङ्ग विभागमा उपचार गराउँदै आएका छन्। अब एक सय ५० बिरामीले भर्ना भएर उपचार सेवा लिनेछन्। सैनिक अस्पताल यसअघि नै नागरिकका लागि खुला गरिसकिएको छ। अस्पतालमा सबै प्रकार रोगको उपचार हुँदै आएको छ। रासस