
बनेपा : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले लोभलालच र भोजभतेरमा मतको दुरुपयोग नगर्न सचेत गराएका छन्।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको सिलसिलामा आज धुलिखेलमा बहिरा नागरिकसँग अन्तक्रिया गर्दै उनले कसैको पनि डर, धम्की र दवावमा नभई निष्पक्ष निर्वाचन हुनु पर्नेमा जोड दिए।
हल्ला पनि नहुने र देखेमात्रै पुग्ने भएकाले बहिरा नागरिकलाई पनि पर्यवेक्षणका लागि ठाउँ दिन कोशिश हुने उल्लेख गरे।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने, “यो राष्ट्रिय निर्वाचन लोकतन्त्र, गणतन्त्र र संघीयता कार्यान्वयन गर्नका लागि हो।”
उनले देशको नीतिभित्र बहिरा भएका नागरिकको सहभागिता खोजिएको उल्लेख गर्दै निर्वाचन महत्वपूर्ण विषय भएकाले बहिरा नागरिकलाई पनि पर्यवेक्षणको जिम्मेवारी दिन आग्रह गरे।
निर्वाचन आयोगका सहसचिव दीपक सुवेदीले अपांग भएकालाई पनि मतदान प्रक्रियामा सहभागी गराउन र मतदान, मतगणना, मतको सदुपयोग गर्न सिकाउने कार्यक्रम प्रभावकारी हुने बताए।