
बग्दाद : इस्लामिक स्टेट (आइएस)ले गएका केही वर्षदेखि कब्जा गरेका इराकी विभिन्न सहरहरुमध्ये बाँकी रहेको एकमात्र सहर रावा पनि इराकी सेनाले फिर्ता गर्दैछ।
आइएसको कब्जाबाट फिर्ता गर्न बाँकी रहेको अन्तिम सहर रावाबाट पनि उसलाई हटाएर सरकारी नियन्त्रण कायम गर्नका लागि इराकी सेनाले शनिबारदेखि कारबाही थालेको छ।
इराकी सेनाले जनाएअनुसार उसले गतसाता अल कायम भन्ने ठूलो नगरमा आइएसको नियन्त्रण नरहेपछि अब रावा र केही साना क्षेत्रमामात्रै उसको पकड छ।
रावा सहरलाई फेरि नियन्त्रणमा लिन शनिबारदेखि इराकी सेनाले कारबाही सुरु गरेको इराकी सेनाले जनाएको छ।
यो पछिल्लो इराकी सैन्य कारबाही सम्पन्न भएपछि जिहादी समूहलाई इराकबाट पूर्णरुपमा हटाउने र उनीहरुको पराजयको घोषणा गरिने छ।
इराकी सेनाको स्थलगत सैन्य समूहहरु कारबाहीमा संलग्न रहेका छन्। दुई सैन्य समूहले शनिबारदेखि रावा सहरका प्रमुख भू–भागहरुमा धावा बोलिरहेका छन्।
उनीहरुलाई हवाई सेनाको लडाकू विमानहरुले पनि सहयोग गरिरहेको जनाइएको छ। रावा इराक र सिरियाको सीमामा पर्छ। उक्त सहरलाई आइएसले स्वघोषित प्रान्तका रुपमा लिएको थियो।
इराकमा आइएसको प्रवेश भएपछि नै सिरिया र इराकबीच उसका लडाकूको आवतजावत र हात हतियारको ओसारपोसारका लागि पनि यस सहरको प्रयोग हुने गरेको थियो।
इराकी सुरक्षा फौजको भनाइअनुसार आइएसलाई इराकमा पहिले उसले नियन्त्रणमा लिएका क्षेत्रहरुबाट धपाइ सकिएको छ।
उनीहरुले सुरुमा इराकी सहरहरु आफ्नो नियन्त्रणमा लिँदा करिब ४४ लाख इराकी नागरिक उनीहरुको शासनमा परेका थिए। अहिले ती सबैलाई स्वतन्त्र बनाइएको छ।
पछिल्लो समयमा इराकबाट आइएसको शासनको अन्त्यका लागि अमेरिकाले नेतृत्व गरेको गठबन्धन सेनाले कारबाही थालेको थियो। तर अहिले पछिल्ला समयहरुमा भने इराकी सेनाले आफै कारबाही गर्ने गरेको छ। रासस/एएफपी