बुटवल : नेकपा एमालेका उपमहासचिव एवं रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले राजनीतिक अस्थिरताले मुलुकलाई विकासको गतिमा अघि बढ्न नदिने देखेर नै वामपन्थी दलहरु एकजुट भएको बताएका छन्।
एमाले र नेकपा माओवादी केन्द्र रुपन्देही क्षेत्र नं ३ सिद्धार्थनगरको संयुक्त प्रचारप्रसार कार्यालयको आज भैरहवामा उद्घाटन गर्दै भुसालले भारतले गरेको अघोषित नाकाबन्दीका बेला बेलहियाका जनताले देखाएको साहस प्रशंसनीय रहेको बताए।
उनले भने,‘मुलुक र जनताले धेरै दुःख पाइसके तर, अब बन्ने वामपन्थी नेतृत्वको सरकारले जनताले पाएको दुःख अन्त्य गर्नेछ।’
कार्यक्रममा माओवादी केन्द्र रुपन्देहीका जिल्ला सहसंयोजक एवं क्षेत्र नं ३ को प्रदेश (क) का उम्मेदवार विश्वास बरालले विपक्षीले जनतामाझ विभिन्न खालका भ्रम छरेका र त्यसलाई चिर्न आवश्यक रहेको बताए।रासस