
काठमाडौं : ‘नाइँ मलाइ थाहा छैन..’ गीतबाट चर्चामा आएका गायक संजिव पराजुलीको स्वरमा दोस्रो एकल एल्बम ’त्यो सपना’ सार्वजनिक भएको छ।
राजधानीमा आइतबार वरिष्ठ गीतकार, साहित्यकार तथा कवि दिनेश अधिकारीको उपस्थितीमा एल्बम बिमोचन गरिएको हो।
चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष भारत शाक्य, गायिका टिका प्रसाईं, गीतकार होमनाथ न्यौपाने तथा उनको माता पिता, संगीतकार दिपक भट्टराई तथा उनको माता पिता र गायक संजिव पराजुली तथा उनको माता पिताले संयुक्त रुपमा एल्बम बिमोचन गरेका थिए।
गायक संजीव पराजुलीले त्यो सपना र मेरो मायालु एकल तथा पहिलो भेटैमा गीतलाई गायिका टिका प्रसाईंसंग लाइभ गाएका थिए।
कवि तथा गीतकार दिनेश अधिकारीले यी तिन युवाले आ-आफ्नै काममा व्यस्त भएर पनि गीतसंगीतलाई गरेको माया प्रशंसा योग्य भएको बताए।
गायक पराजुलीले आफ्नो अघिल्लो गीत नाइँ मलाइ थाहा छैनलाई सबैले मन पराइदनुभएको र त्यो भन्दा राम्रो गर्ने कोसिसका साथ दोस्रो सोलो एल्बम त्यो सपना लिएर आएको बताए।
होम नाथ न्यौपानेले आपूहरुले हामीले तिन वर्ष अगाडी देखेको सपना भएकोले एल्बमको नाम समेत त्यो सपना राखेका प्रतिक्रिया दिए। ‘हामीले आफ्नो सपनालाई पछिल्लो तिन हप्तामा पुरा गरेका छौँ। हामीले प्रयास गरेका छौँ, अब तपाईहरुको प्रतिक्रियाको पर्खाइमा छौँ।’
यस्तै संगीतकार दीपक भट्टराईले संयुक्त प्रयासमा पहिलो एल्बम ल्याएको र दर्शकले रुचाउने खालका गीत तयार पार्ने कोशिस गरेको बताए।