काठमाडौँ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल सरकार, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई विपक्षी बनाई प्राधिकरणका पूर्व कार्यकारी सुशील ज्ञवालीले आज दायर गरेको रिट निवेदनमा प्राधिकरणमा भुसाललाई गैरकानुनी रुपमा नियुक्ति गरिएको भन्दै नियुक्ति खारेज गर्न माग गरिएको छ।
रिट निवेदनमा प्राधिकरणका पूर्व सिइओ गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरी बाँकी अवधिका लागि युवराज भुषाललाई नियुक्ति गर्नु कानुनसम्मत नभएको जिकिर गर्दै भुसालको नियुक्ति बदर गर्न माग गरिएको छ।
प्राधिकरणका पूर्व सिइओ पोखरेलले प्रतिनिधिसभा निर्वाचनमा प्यूठानबाट उम्मेदवार हुन राजीनामा दिएपछि मन्त्रिपरिषद्ले कात्तिक ६ गते उनको राजीनामा स्वीकृत गर्दै पूर्वअर्थसचिव युवराज भुसाललाई सिइओ नियुक्त गरेको थियो।
यसअघि पनि प्राधिकरणका पूर्वसिइओ ज्ञवालीले गैरकानुनीरुपमा आफूलाई सिइओ पदबाट हटाइएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
मन्त्रिपरिषद्को २०७२ साल पुस १० गतेको निर्णयबाट पाँच वर्षको पदावधि हुने गरी प्राधिकरणमा आफूलाई नियुक्त गरेपनि त्यसको एक वर्षमै गैरकानुनी रुपमा हटाएर पोखरेललाई सिइओ नियुक्त गरिएको भन्दै उनले २०७३ माघ ४ गते रिट दायर गरेका थिए। सो मुद्दा अदालतमा हालसम्म पनि विचाराधीन छ।रासस