काठमाडौं: मङ्सिर १ गते शुक्रबार सार्वजनिक हुने फिल्म ’झ्यानाकुटी’को नयाँ गीत सार्वजनिक भएको छ। 'भो मलाई चाहिदैन अर्की' बोलको गीत भिडियोसहित युट्युब रिलिज भयो।
गीतमा प्रदीप भारद्वाजको शब्द, बिकाश चौधरीको संगीत र धर्मेन्द्र सेवानको स्वर रहेको छ। गीतको भिडियोमा सौगात मल्ल, बेनिशा हमाल, सुमी मोक्तानको साथमा बालकलाकार एस्टल गुरुङको फिचरिङ रहेको छ। धम्पुसमा छायांकन गरिएको भिडियोलाई सिमोश र नीशाले मिलेर कोरियोग्राफ गरेका छन्।
नीशा आधिकारी र सिमोश सुनुवारको निर्माण रहेको फिल्मलाई सिमोशले निर्देशन गरेका हुन्। निर्माता रहेकी नीशा अधिकारीले भनिन्,'गीतमा हामीले श्रीमती नहुदा श्रीमानलाई पर्ने समस्या देखाएका छौं। झन् आफ्नो बच्चासँगै हुनु र श्रीमती नहुनुको पिडा कस्तो हुन्छ भन्ने भावलाई यसमा व्यक्त गरेका छौं। जसले फिल्मको कथा बारे पनि केही हिंट दिन्छ।'