PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

विप्लवको निसानामा जनार्दन र वर्षमान नै किन?



सूर्य खड्का

विप्लवको निसानामा जनार्दन र वर्षमान नै किन?

काठमाडौं : २०५२ सालको तत्कालीन माओवादी जनयुद्धका दौरानमा रुकुमका एमाले नेता तथा सांसद यदु गौतमको घाँटी रेटेसँगै बिद्रोहको आगो दन्काउदा नेत्रविक्रम चन्द, जर्नादन शर्मा र वर्षमान पुनहरु एकै मोर्चामा थिए।

उनीहरुको साथसाथमा संघर्ष दशक लामो भूमिगत युद्धका दौरान जारी रह्यो। तर, जसै माओवादी २०६३ मंसिर ५ को बृहत शान्ति सम्झौतामार्फत शान्त राजनीतिमा अवतरित भयो, तब विप्लव वर्षमान पुन र जर्नादन शर्माहरुबाट टाढिदै गए। अहिले ०७४ को चुनावसम्म आइपुग्दा उनै पुन र शर्मालाई सफाया गर्ने मोर्चामा विप्लव खडा हुँदै गर्दा बढिरहेका छन आन्तरिक वाम संघर्षका नयाँ पेचिला लडाई। अनि त्यसको मार र भार परिरहेको छ संविधान कार्यान्वयनको चुनावी लक्ष्यमा।

‘भाइ फुटे गवार लुटे’ उखान जस्तै भैरहेको छ अहिले निर्वाचन लक्षित माओवादी केन्द्रका नेताहरुमाथिको आक्रमण। माओवादीका नेता तथा पूर्वमन्त्रीहरु पुन र शर्मा मुख्य निशानामा छन। सोमवार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको रोल्पा बन्द र तत्कालीन माओवादी जनयुद्धको उद्गम स्थल रुकुम तथा रोल्पाका माओवादी उम्मेदवारमाथि नै लक्षित आक्रमणले प्रष्ट पार्छ, यी आक्रमणहरु विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको सुनियोजित आक्रमणहरु नै हुन।

निर्वाचनमा भाग नलिएको, प्रचण्ड नेतृत्व ‘माओवादी’को संसदवादी यात्रालाई कडा आलोचना र उसकै शब्दमा शसक्त विरोध तथा भण्डाफोर गर्दै आएका विप्लव नेतृत्वको पूर्वमाओवादी नै अहिले चुनाववादी माओवादीलाई बम र बारुदले उडाउन उद्धतमा देखिएको छ।

र, अहिले ५० को दशकमा सँगै मिलेर यदु गौतमको सफाया गर्ने पुन, शर्मा र विप्लवमध्ये विप्लव नै पुन र शर्माहरुको सफायाका लागि असफल आक्रमणमा उत्रिरहेका छन। विप्लवलाई उतिबेला मारिएका गौतमकै नियतिमा अहिले पूर्वसहकर्मी पुन र शर्माहरुलाई सफाया गर्नुछ। संसदीय राजनीतिको बिडो थाम्न चुनावी समरमा होमिएका पुन र शर्माहरुलाई विपक्षी लोकतान्त्रिक गठबन्धनसँग चुनावी श्रेष्ठताका लागि संघर्ष जित्नु मात्रै चुनौती छैन। पूर्वसहयात्री विप्लव आक्रमण र प्रहार छेल्न र झेल्न हम्मेहम्मे परिरहेको छ।

सतहमा आक्रमणको मुख्य निशानामा पूर्वअर्थमन्त्री पुन र शर्मा नै पर्नुमा उनीहरुको सत्ताकालीन भूमिका नै जिम्मेवार देखिन्छ। रुकुम र रोल्पाका उनीहरु प्रचण्ड माओवादीका अगुवा र खम्बा भएकाले विप्लव दलले ती क्षेत्रमा आफ्नो पनि प्रभुत्व प्रमाणित गर्न ताकेर आक्रमण गरेको हो। त्यसमाथि तत्कालीन अर्थमन्त्रीका रुपमा पुनले प्रदर्शन गरेको शासकीय दम्भ र क्रियाकलापबाट इरिटेड भएका विप्वका नेता कार्यकर्ताले उनीमाथि बदलाको शक्ति प्रदर्शन पनि यही आक्रमणबाट गरेका हुन। चुनाव बिथोल्ने पार्टी नीतिको निहुँमा माओवादी आन्दोलनलाई धोका दिने भनिएका माओवादी केन्द्र उपर जाई लाग्ने र बदला लिने मौकामा विप्लवको दलले आक्रमण गरिरहेको घटना क्रमले देखाउछ।

जनयुद्धकालीन प्रचण्ड नेतृत्वको माओवादी जसै संसदीय राजनीतिको पक्षपोषक भएर उदाउँदै गयो। वर्षमान पुन दक्षिण छिमेकका नयाँ विश्वास पात्रमा उदाउँदै गएको विप्लव नेतृत्वका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको बुझाई छ। उहिलेको माओवादीलाई भारतीय डिजाइनको नेपाली वाम मानिए अहिलेका विप्लवहरु उनीहरुकै दाबी जस्तै भारत विरोधी नै हुन भने, तारन्तार वर्षमान पुनलाई नै निशानामा पारेर भारतलार्इ तर्साउने रणनीति अख्तियार पनि हुन सक्छ। किनभने भारतका दाहिने हात बनेर अर्थमन्त्री भएका पुनले भारतलाई रिझाउन धेरै घातक कदम चालेका विप्लवहरुको बुझाई रहेका नेताहरु नै बताउने गरेका छन।

अर्को पक्ष संसदीय राजनीतिमा आएपछि माओवादीभित्र धेरै लाभ लिने र अस्वभाविक आर्थिक तथा सत्ताशक्तिमा उदाएका मात्रै होइन प्रत्यक्ष हाबी भैरहेका नेता हुन पुन। उनले प्रचण्डको दाहिने हात र भारतको विश्वास पात्र भएर सत्ता राजनीतिमा भित्री खेलाडीको काम गरेका तथ्यहरु केपी ओलीदेखि प्रचण्ड र शेरबहादुर देउवासम्मका सरकारमा उनको चलखेलले पुष्टि गरेको छ।

प्रचण्डको प्रधानमन्त्री कालमा आफूमाथि महाअभियोग लगाउनु पूर्व भेटेर मुद्दाहरुलाई प्रभाव पार्न वर्षमानले ताकेता गरेको खुलासा निवर्तमान प्रधानन्यायधीश सुशिला कार्कीले यसअघि नै सार्वजनिक गरिसकेकी छन। न्यायधीश नियुक्तिमा होस वा शासकीय कर्ममा प्रचण्डको वरिपरी रहेर वर्षमानले वालुवाटारदेखि सिंहदरवारसम्म खुट्टो निकै घुमाए।

लाभका अवसर बटुल्नमा कुनै कसर बाँकी राखेका नेता होइन्न वर्षमान। उनले आफू ०७० को निर्वाचन हारेकाले सत्तामा बसेर खुट्टो घुमाउन नपाए पनि प्रचण्डको दायाबाया बनेर शक्तिमा खेलिरहे। फलतः धर्मपत्नी तथा माओवादी नेतृ ओनसरी घर्तीलाई पहिलो महिला सभामुख बनाउन सके। पार्टीभित्र एकलौटी सत्ता संचालन गरिरहे।

त्यही वर्षमान पथमा अर्को ध्रुबबाट उदाइरहेका नेता हुन शर्मा पनि। उर्जामन्त्री कालको लोकप्रियताको आडमा उनले आन्तरिक पार्टी सत्तामा हालीमुहाली बढाउँदै लगेका छन। आफूलाई वैकल्पिक प्रचण्डमा प्रस्तुत गर्ने गरी उदाउन खोज्ने वर्षमान र जर्नादन विप्लवका पनि तारो बनेका छन। र, प्रचण्डमाथि वर्षमान र जर्नादनको दबदबालाई चुनौती दिन तथा उनीहरुको उदाउदो संसदीय शक्तिलाई हच्काउन पनि पूर्वसहकर्मी विप्लवहरुले यो स्तरको आक्रमण बढाएका हुन।

तत्कालीन प्रधानन्याधीश कार्कीमाथि प्रचण्डलाई नै बेखबर पारेर नक्कली हस्ताक्षरसहित महाअभियोग प्रस्ताव संसदमा दर्ता गर्नेदेखि पार्टी सत्तामा प्रचण्डबाहेक अरु कसैलाई टिक्न नदिने रणनीतिमा रहेका जर्नादनलाई गृहजिल्लामा ठेगान लगाइदिने विप्लवको रणनीति अनुसार उनीमाथि आक्रमण जारी रहेको हो। उनले उर्जामन्त्री कालमा पाएको लोकप्रियताको जगमा गृहमन्त्री कालमा विप्लव दलमाथि लादेको दमनको नीति पनि उनीमाथिको आक्रमण श्रृखलाको कारण हो। किनभने कुनै पनि पञ्चायती मन्त्रीको दमन शैलीलाई बिर्साउने गरी गृहमन्त्री जर्नादनले विप्लव पार्टीमाथि आक्रामक र दमनकारी रवैया शुरुदेखि बिना विभायीग हुँदासम्म खनिएका थिए।


पूर्वअर्थमन्त्री पुन र शर्मामाथिको आक्रमण श्रृङ्खला

मध्यपश्चिमका रोल्पा र रुकुममा उम्मेदवारहरुको सुरक्षाका लागि चुनौती बढाउने सन्देश जाने गरी दैनिक गोली प्रहार र विद्युतीय धराप थाप्ने काम भएका छन। अज्ञात समूहका नाम भनिए पनि ती आक्रमण विप्लवको दलले गरेको ओपन सेक्रेट छ। रोल्पामा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षमान पुनमाथि गोली प्रहार र विद्युतीय धरापमा पार्न खोजिएको थियो। तर, सुरक्षा निकायले त्यसलाई विफल पारिदिए। आइतबार चुनावी प्रचारप्रारका लागि जाँदै गर्दा रोल्पाको दुईखोलामा भिरमाथिबाट ढुंगा गुल्टाएर फायरिङ् गरेका थिए।

यसअघि रोल्पाको माडी गाउँपालिका – १ ओतको जंगलमा माओवादी नेता पुन चढेको गाडीलाई लक्षित गरी शनिबार मध्यान्ह माइन बम विस्फोट गरियो। सुकिदह गाउँपालिकामा चुनावी कार्यक्रम सकेर घर्तीगाउँ फर्कने क्रममा पुन चढेको गाडी माडी गाउँपालिका– १ भित्तावाड नजिकै पुग्दा पेदीखोलामा बम विस्फोट भएको थियो। विष्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाए पनि बम कसले राखेको हो भन्ने पुष्टि गरेन, तर त्यो विप्लव दलकै असफल आक्रमण थियो।

अघिल्लो दिन शुक्रबार रुकुममा माओवादी नेता जनार्दन शर्मा चढेको गाडी लक्षित गरी बम प्रहार भयो। त्यस घटनामा पनि शर्मा बच्न सफल भए।

 

मृत्युपछिको डाक्टरी शैलीमा उच्चस्तरीय निर्वाचन सुरक्षा समिति

यसरी मुलतः माओवादी केन्द्रका वर्षमान र जनार्दन तथा सम्भव भएसम्म अन्य दलका नेता, उम्मेदवार र मतदातालाई सुरक्षा चुनौती दिने गरी विप्लवको दलले निर्वाचन विरोधी आक्रमण श्रृङ्खलामा बढोत्तरी हुँदा उच्चस्तरीय निर्वाचन सुरक्षा समिति भने मृत्युपछिको डाक्टरी शैलीमा सीमित भए। निर्वाचन आयोगले रुकुम र रोल्पामा भएका घटनालाई लिएर सुरक्षामा उत्पन्न भएको संवेदनशीलता, निर्वाचन सुरक्षा योजना र समग्र शान्ति सुरक्षाको विद्यमान अवस्था बारेमा विस्तृतमा छलफल र समीक्षा गरे पनि आक्रमणकारी विप्लव नेतृत्वको नेकपाबारे मुख खोल्न सकेन।

प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको उपस्थितिमा आइतवार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा निकायले प्रस्तुत गरेको सुरक्षा कार्ययोजना र प्रतिबद्धताबाट राजनीतिक दलका नेता, उम्मेदवार र मतदाताको पूर्ण सुरक्षा प्रदान गर्न सुरक्षा निकाय सक्षम रहेको निष्कर्ष निकालियो। तर आयोगमा यस्तो निष्कर्ष निकालिदै गर्दा आयोगका एक जना उम्मेदवार, पूर्वमन्त्री र सत्तारुढ दलका नेता पुनमाथि निर्वाचन क्षेत्रमा दोहोर्‍याएर आइतवार भैरहेको थियो विप्लव कार्यकर्ताको आक्रमण। तर यसबारे मौन रह्यो आयोगमा सम्पन्न उच्च स्तरीय सुरक्षा समिति बैठक।

बैठकमा रुकुम र रोल्पामा भएको पछिल्लो घटनासहित पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको समग्र सुरक्षाको अवस्थाको समीक्षा र मूल्याङ्कन गरिएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिँदै गर्दा उम्मेदवार लक्षित आक्रकमणको निन्दा र भर्सना पनि गर्न सकेन्न। उम्मेदवार केन्द्रीत आक्रमण्का घटनाहरूलाई नियन्त्रण गर्न सुरक्षा निकायले थप प्रभावकारी कार्ययोजना र प्रयासका साथ परिचालन हुनुपर्ने उक्त बैठकको निष्कर्षले रुकुम, रोल्पा लगायतका क्षेत्रको आक्रमणमा सुरक्षा निकाय पछि र विप्लव आक्रमणको योजनाअघि रहेको पुष्टि भएको छ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले आगामी दिनमा त्यस्ता घटना नघट्ने र उम्मेदवार तथा राजनीतिक दलका नेताले सुरक्षित प्रचार गर्ने वातावरण बन्ने विश्वास व्यक्त गर्नुले पनि सुरक्षा निकायले विप्लवको आक्रमण योजनालाई निस्तेज पार्न नसक्ने जनाउ दिन्छ। आगामी मसिर १० र २१ का दुवै चरणका चुनाव आयोगले गराउने भए पनि ती चुनावको सुरक्षा जिम्मा लिएका नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलाई पछिल्ला आक्रमण श्रृङ्खला निकै पेचिला सुरक्षा चुनौती बनेर सतहमा आएका छन।

यसरी साना जस्ता लाग्ने गम्भिर घटनाहरु बढी रहदा चुनावी सुरक्षामाथि भय र आशंकाका बादलहरु पनि थपिदै छन। बिना विभागीय मन्त्री जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरेर रुकुमको बम प्रहार, वर्षमान पुन चढेको गाडीलाई लक्षित  विस्फोट वा पछिल्लो दिनको गोली प्रहार, गोरखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुशिला सिम्खडा हतियारसहित पक्राउ जस्ता घटनाहरु सुरक्षा निकायको नियन्त्रणमा निर्वाचन सुरक्षा प्रबन्ध नरहेको प्रतिनिधि उदाहरण नै हुन। आगामी प्रदेश तथा प्रतिनिधि सभा चुनाव शान्तिपूर्ण नहुन पनि सक्छन भन्ने जनाउ यिनै घटनाहरुले दिन्छन।

 यी आक्रमणहरुले के प्रमाणित गर्दछ भने विप्लव नेतृत्वको दलले आक्रमण श्रृङ्खला आफैले बन्द नगरेसम्म सुरक्षा निकायले त्यस्ता आक्रमण योजना गर्भमा नै तुहाइदिने ल्याकत गुमाएको छ। यस्तै केही अक्रमणले नै समग्र चुनाव बिथोलिदा भन्न त सकिदैन तर, चुनाव प्रतिरोध र बहिष्कारका नाममा विप्लवले यस पटक सुरक्षा निकाय, आयोग र सरकारलाई नै टाउको दुख्ने गरी सुरक्षा थ्रेट थपिदिएका छन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell