काठमाडौं : प्रहरी महानिरीक्षक प्रकाश अर्याल सोमवार प्रहरी प्रधान कार्यालयमा आयोजित सुरक्षा व्रिफिङ कार्यक्रममा निकै आक्रामक रुपमा प्रस्तुत भए।
निर्वाचन सुरक्षा सम्बन्धी ब्रिफिङ कार्यक्रम भए पनि अर्याल प्रहरी संगठनभित्र प्रहरी प्रमुख परिवर्तन बारे भएको हल्लामा नै केन्द्रित भए। संगठनका प्रहरीहरु आइजी परिवर्तनको बारेमा गुटवन्दी गर्दै हिंडेको आरोप महानिरीक्षक अर्यालले लगाए।
पहिलोपोस्टसँग कुरा गर्दै बैठकमा सहभागी एक प्रहरी अधिकृतले भने,‘ उहाँले संगठनमा धेरै सहिसके अब पनि प्रहरी गुटबन्दी गर्दै हिंडे प्रहरी नियमावली पल्टाएर कारबाही गर्ने चेतावनी दिनु भयो।’ महानिरीक्षक अर्यालले संगठनभित्र अनावश्यक हल्ला भएको बताए।
अर्यालले बैठकमा आफू फागुनसम्म नै पदमा रहने भएकाले सबैलाई आफ्नो जिम्मेवारीमा बसेर कर्मनिष्ठ भर्इ काम गर्ने निर्देशन दिए।
उपत्यकाभित्र सुरक्षा व्यवस्था कमजोर भएको भन्दै महानिरीक्षक अर्यालले निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिए। सीमा सुरक्षा, अपराधलगायत सुरक्षामा चुस्त रुपमा लागि पर्न अर्यालले निर्देशन दिएका थिए।