PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

लमजुङको भोट : गिरिजाप्रसादले माया गरेकालाई कि भान्जालाई ?



पहिलोपोस्ट

लमजुङको भोट : गिरिजाप्रसादले माया गरेकालाई कि भान्जालाई ?

  • बी.साह 
लमजुङ : प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा निकै प्रतिस्पर्धात्मक चुनाव हुने भएको छ। अन्यत्रजस्तै यहाँ पनि वाम गठबन्धन र कांग्रेसका उम्मेदबारबीच प्रतिस्पर्धा हुँदैछ। 

वाम गठबन्धनबाट माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री देव गुरुङ चुनावी मैदानमा छन् भने कांग्रेसबाट राज्य व्यवस्था समितिका निवर्तमान सभापति दिलबहादुर घर्ती।

दुवै उम्मेदवार शक्तिशाली मानिन्छन्। वाम गठबन्धन र जातीय समीकरणका कारण गुरुङ बलियो देखिएका छन्। स्थानीय स्तरमा कांग्रेसको पकडका कारण घर्ती पनि कमजोर अवस्थामा छैनन्।

२०४८ सालको निर्वाचनमा लमजुङबाट चुनाव हारेका देव गुरुङ्ग २६ वर्ष पछि पुनः यहीको चुनावी मैदानमा फर्केका छन्। मनाङ र लमजुङको प्रशासनिक अड्डाहरु पहिले एकै ठाउँमा थिए जसका कारण यी दुवै जिल्लाको निकटता अहिले पनि छ।

देव गुरुङ त्यसैले पनि लमजुङबाट चुनाव लड्दैछन्। लमजुङ गुरुङको मामली थलो हो। यहाँका बुढापाकाहरु गुरुङलाई भान्जा उम्मेदवार भन्ने गरेका छन्।

कांग्रेसका उम्मेदवार दिलबहादुर घर्तीलाई स्थानीयबासीले ‘गिरिजाले माया गरेको मान्छे’ भन्ने गरेका छन्। अर्थात् घर्ती गिरिजाप्रसाद कोइरालाका निकट थिए जसकारण कांग्रेस भित्र पनि घर्तीको बलियो पकड रहेको छ। 

स्थानीय निकायको निर्वाचनको मतपरिणामलाई आधार मान्ने हो भने वाम गठबन्धन बलियो छ। तर, वडाहरुमा कांग्रेसको संगठन बलियो देखिएको छ।

कांग्रेसका उम्मेदबार घर्ती सालिन स्वभावका उम्मेदवार हुन्। उनी विभिन्न पदमा पुग्दासमेत जिल्लाका लागि खासै योजना ल्याउन नसकेको लमजुङ्गवासीको गुनासो छ। देव गुरुङलाई पनि टुरिस्ट उम्मेदवारको रुपमा चर्चा गरिँदैछ।

राइनसकोटकी विष्णुमाया गुरुङले विकास निर्माणको काम कुनै पार्टीले नगरेको गुनासो गरिन्। ‘हाम्रो जिल्लामा टुरिस्टहरुको सम्भावना छ। जडीबुटी छ। तर, हाम्रा नेताहरुले केही गरेका छैनन्। मुल बाटो बाहेक एक टुक्रा पनि पिच बाटो छैन। यहाँका धेरै धेरै मन्त्री भए तर विकास भएन,’ गुरुङले पहिलोपोस्टसँग भनिन्। 

विकास गर्नेलाई आफूहरुले भोट दिने मुडमा देखिए यहाँका जनता। लमजुङको चुनावमा असर पर्ने विभिन्न तत्वहरु छन्। 

जातीय समीकरण

लमजुङको जातीय समीकरण हेर्ने हो भने गुरुङ पहिलो स्थानमा रहेको छ। बाहुन/क्षेत्री दोस्रो स्थानमा।कांग्रेसले उठाएका उम्मेदवार दिलबहादुर घर्ती लमजुङको अल्पमतमा पर्ने जाति हो। वाम गठबन्धनले उठाएको उम्मेदवार देव गुरुङ्ग जातीय रुपमा बहुमतमा रहेका छन्।

जनजाति आन्दोलन पछिका चुनावहरुमा गुरुङहरुको मत एकै ठाउँमा जाने गरेको छ। गुरुङहरुले निर्णय गरेको अवस्थामा एउटा उम्मेदवारको नाममा ‘तम तम’ हुने गर्छ। अर्थात् उम्मेदवारको नाम भनेको खण्डमा सबैले ‘हुन्छ हुन्छ’ भन्ने गरेका छन्। र, सोही उम्मेदवार जित्ने गरेको छ।
प्रतिनिधि सभाका लागि लमजुङबाट ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। चार जना गुरुङ छन् भने चार जना ब्राम्हण(क्षत्री।
 

जनयुद्धको प्रभाव

यही भूमिबाट २०४८ सालको चुनावमा देव गुरुङ पराजित भएका थिए। माओवादी जनयुद्धका क्रममा गुरुङ्ले आफ्ना विरोधीहरुलाई सफाया गरेर त्यसको बदला लिएको आरोप कांग्रेसका उम्मेदवारहरुले लगाउने गरेका छन्।

जनयुद्धका क्रममा लमजुङमा कयौं भिडन्त भए। राज्य र माओवादी पक्षले कयौंको हत्या गर्‍यो। सोही क्रममा माओवादीबाट एक जना शिक्षकको हत्या भएको थियो। उक्त विषयलाई कांग्रेसका उम्मेदवारहरुले उठाउने गरेका छन्। यसले गुरुङको छवि बौद्धिक स्तरमा राम्रो मानिएको छैन। 

विधायक उम्मेदवारको प्रभाव

लमजुङमा प्रदेश सभाका दुईवटा सिट छ। प्रदेश सभाको ‘क’मा कांग्रेसबाट गर्ज बहादुर गुरुङ उम्मेदबार छन् भने वाम गठबन्धनको तर्फबाट धनन्जय दवाडी।

प्रतिनिधि सभामा गुरुङ उम्मेदबार दिन नसकेपछि कांग्रेसले अर्का जनजातिलाई नै प्रदेश सभाको उम्मेदवार बनाएको हो। यस क्षेत्र गुरुङको बाहुल्य रहेको क्षेत्र हो।

आर्थिक हिसाबले पनि गर्जबहादुर गुरुङ बलिया मानिन्छन्। व्यापारसहित अन्य क्षेत्रमा पनि उनेको लगानी छ। तर, दवाडी पूर्व शिक्षक हुन्। आर्थिक रुपमा कमजोर दवाडीको छवि भने राम्रो छ।

प्रदेश सभाको ‘ख’मा कांग्रेसबाट कृष्ण प्रसाद कोइराला उम्मेदवार छन्। ुखुमा बाहुन क्षेत्रीको निर्णायक मत मानिने गरेकोले कांग्रेसले कोइरालालाई उम्मेदवार बनाएको हो। कोइराला जिल्ला पार्टी सभापति भइसकेका र मिलनसार व्यक्तिका रुपमा परिचित छन्। 

वाम गठबन्धनबाट पृथ्वी सुब्बा गुरुङ उम्मेदबार छन्। उनी जनजाति आन्दोलनका अगुवासमेत हुन्। गुरुङ जनजाति आन्दोलनका क्रममा बाहुन क्षेत्री विरुद्ध भाषण गरेको भन्दै आलोचित पनि छन्। 

वामको नारा, ‘जिल्लाबाटै मुख्यमन्त्री र केन्द्रीय मन्त्री’

वाम गठबन्धनले चुनावी प्रचारप्रसारका क्रममा लमजुङबाटै चार नम्बर प्रदेशको मुख्य मन्त्री र केन्द्रीय मन्त्री हुने दाबी गर्दैछन्। 

गठबन्धनले पृथ्वी सुब्बा गुरुङलाई चार नम्बर प्रदेशको मुख्य मन्त्री भनेर प्रचार गर्दैछ। आदिवासी जनजातिका छोरा मुख्यमन्त्री हुने भन्दै गठबन्धनले भोट माग्दैछ।

त्यस्तै, देव गुरुङलाई केन्द्रीय मन्त्री भनेर प्रचार प्रसार गरिँदैछ। यसअघि पनि मन्त्री भइसकेको गुरुङ चुनाव जितेको खण्डमा पुनः मन्त्री बन्ने र लमजुङको विकास गर्ने बाचा गठबन्धनले दिँदैछ। 

गठबन्धनलाई जोड्दै देव गुरुङ

चुनावी अभियानका क्रममा देव गुरुङले वाम गठबन्धनमा अन्य दलका कार्यकर्ताहरुलाई जोड्दैछन्। गुरुङ्गले कांग्रेसका उम्मेदवार दिल बहादुर घर्तीकै गाउँका कांग्रेसी कार्यकर्तालाई पार्टीमा भित्र्याएका छन्।

कांग्रेसका पुराना नेता बहादुर थापासहितका नेताहरु वाम गठबन्धनमा प्रवेश गरेका छन् भने नयाँ शक्ति पार्टीका जिल्ला सहसंयोजक सहितका कार्यकर्ताहरुलाई प्रवेश गराएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell