
काठमाडौं : नेपालमा ‘राष्ट्र–राज्य’ र ‘राज्य राष्ट्र’का विषयमा बहस जारी रहेका बेला मधेश केन्द्रित दलहरुले घोषणापत्रमा बहुराष्ट्रिय राज्यका कुरा उठाएको छ।
मधेश केन्द्रित दलहरुले बहुराष्ट्रिय राज्यका कुरा उठाउँदा मुलुक विभाजन हुन सक्ने संकालु दृष्टिकोणले हेरिने गरेको छ। यस्तै पृष्ठभूमिमा संघीय समाजवादी फोरम नेपालको चुनावी घोषणापत्रमा आफू बहुराष्ट्रिय राज्यको पक्षमा रहेको उल्लेख गरेको छ।
फोरमको घोषणापत्रमा भनिएको छ,‘हाम्रो पार्टी बहुराष्ट्रिय राज्यको पक्षमा रहेको छ भने यथास्थितिवादी दलहरु एकल जातीय राज्यले अपनाउने राष्ट्र–राज्यको पक्षमा रहेका छन्।’
नेपाली राजनीतिक दलहरुले राष्ट्रियताको परिभाषा नै गलत ढंगले गर्दै आएको घोषणापत्रमा आरोप लगाइएको छ। घोषणापत्रमा बहुलतायुक्त राष्ट्रवादको विकास गर्नेसमेत उल्लेख गरिएको छ।
बहुराष्ट्रिय राज्यको कुरा उठाइएको घोषणापत्रमा नेपाली सेनाको लोकतान्त्रिकरण गर्ने उल्लेख गरिएको छ। घोषणापत्रको पृष्ठ ३३ मा भनिएको छ,‘मुलुकको सुरक्षा अंग तथा सार्वजनिक प्रशासनलाई संघीय प्रणाली अनुरुप पुनर्गठन गर्ने। संघीय व्यवस्था र लोकतान्त्रिक मूल्य पद्धतिप्रति पूर्ण समर्पित हुने गरी नेपाली सेनाको लोकतान्त्रिक करण र व्यवसायिकरण गर्ने।’नेपाली सेनालाई समावेशी बनाउने विषयमा पनि घोषणापत्र बोलेको छ।
त्यस्तै, फोरमले बहुभाषिक नीतिलाई अगाडि सारेको छ। नेपाली भाषाको नाममा पर्वतीय–गोर्खा भाषा लाद्न खोजेको भन्दै विरोध गरेको छ।
‘हाम्रो पार्टी सरकारी कामकाजको भाषाको नाममा शिक्षा, सञ्चार अदालत सबै ठाउँमा एकल भाषा प्रयोग गर्ने नीतिको विरुद्ध छ भने यथास्थितिवादीहरु नेपाली भाषाको नाममा पर्वतीय–गोर्खा भाषालाई एकाधिकार र विशेषाधिकार दिने पक्षमा छन्।’ घोषणापत्रमा उल्लेख गरिएको छ।
फोरमले संविधान संशोधनको विषयलाई मुख्य चुनावी एजेण्डा बनाएको छ। उसले संविधान संशोधन अथवा पुनर्लेखनको माग गरेको छ।