PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

अछाममा वाम र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुने



पहिलोपोस्ट

अछाममा वाम र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा हुने

अछाम :  मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अछाममा उम्मेदवारले आमसभासँगै घरदैलो अभियानलाई तीव्र पारेका छन्। 

जिल्लामा नेपाली कांग्रेस र वाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धाहुने अनुमान गरिएको छ। दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ। 

क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावल र नेपाली कांग्रेसका भरतकुमार स्वाँरबीच प्रतिस्पर्धा हुने देखिन्छ।

विसं २०४८ मा रावल कांग्रेस उम्मेदवार बलबहादुर कुँवरसँग पराजित भएका थिए भने २०५१ सालको निर्वाचनमा रावलले कांग्रेसका गोविन्दबहादुर शाहलाई पराजित गरेका थिए। 

विसं २०५६ को चुनावमा रावल कांग्रेस उम्मेदवार गोविन्दबहादुर शाहसँग पराजित भएका थिए। रावलले २०६४ सालको संविधानसभाको पहिलो निर्वाचन प्रत्यक्षतर्फ लडेनन्। उनी समानुपातिकतर्फबाट सभासद बनेका थिए। रावलले २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेस उम्मेदवार मेघराज खड्कालाई पराजित गरे। 

कांग्रेस उम्मेदवार स्वाँर पहिलो पटक प्रतिनिधिसभाको चुनाव लड्दैछन्।स्वाँर विसं २०४९ देखि २०५४ सम्म जिल्ला विकास समितिको सभापति थिए। 

यस्तै, क्षेत्र नं २ मा कांग्रेस उम्मेदवार पुष्पबहादुर शाह र वाम गठबन्धनबाट एमालेका यज्ञबहादुर बोगटीबीच प्रतिष्पर्धा हुनेछ। 

क्षेत्र नं १ प्रदेशसभा ‘क’ मा कांग्रेसबाट मेघराज खड्का र एमालेबाट गोविन्दबहादुर कुँवर चुनावी मैदानमा छन्। प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका झपट बोहरा र कांग्रेसका टेकबहादुर साउँदबीच प्रतिष्पर्धा हुने अनुमान गरिएको छ। 

क्षेत्र नं २ प्रदेशसभा ‘क’ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अक्कलबहादुर रावल र कांग्रेसका सुरतबहादुर विष्टबीच प्रतिष्पर्धा हुनेछ। प्रदेशसभा ‘ख’ मा कांग्रेसका बलबहादुर कुँवर र एमालेका बलबहादुर सोडारीबीच नै मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell