
‘यहाँ से पचास पचास कोस दूर जब बच्चा रात को रोता है तो माँ कहती है सो जा बेटे नहीं तो गब्बर आ जाएगा।‘ फिल्म ‘शोले’मा रहेको यो डायलग आजसम्म चर्चामा छ। जुन गब्बरको नाम पनि डायलगसँगै चर्चामा आयो त्यो पात्र अर्थात अभिनेता अमजद खान जिउँदो हुन्थे भने आइतबार उनी ७७ वर्षको पुग्थे। फिल्मको खलनायक कुनै किम्बदन्तीको नायक बने। शोले फिल्मलाई भिलेनको कारण आजसम्म याद गरिन्छ। तर त्यही भिलेन पात्र आज बलिउडमा छैनन्। मात्र स्मरणमा छन्।
जुन पात्र स्मरणमा छ त्यो भूमिका अमजद खानले सहजै पाएका होइनन्। यस्तो छ शोलेमा गब्बर पात्र जन्मनुको कथा। गब्बरको भूमिकाको लागि पहिले डैनीलाई अफर आएको थियो। त्यती मात्र होइन फिल्मको स्टारकास्ट पोस्टरमा गब्बर लुक्स सहित डैनीको फोटो पनि छापिएको हो। तर त्यस समय डैनी फिरोज खानको फिल्म ‘धर्मात्मा’को सुटिङका लागि अफगानस्तान जानु पर्यो। र उनले शोलेबाट हात झिके।
बीबीसी हिन्दीले जनाए अनुसार सलिम खानले जावेद अख्तरलाई अमजद खानको बारेमा बताए। अख्तरले अमजदलाई केही वर्ष अघि दिल्लीमा एक नाटक मञ्चनको क्रममा देखेका थिए। जसको सलिम खानले तारिफ समेत गरेका थिए। त्यसैले गब्बर बन्नका लागि कलाकार खोजी भैराख्दा उनीहरुले एकसाथ अमजदलाई सम्भावित पात्र देखे। जो चरित्र अभिनेता जयन्तका छोरा समेत थिए।
थिएटर आर्टिस्ट अमजदलाई गब्बरको भूमिकाको लागि अफर गर्दा उनले तुरुन्त काम गर्ने जानकारी दिए। केही फिल्ममा बाल कलाकारको भूमिका निभाएका उनले अभिनेताको रुपमा सन् १९७३ मा ‘हिन्दुस्तान की कसम’बाट बलिउड डेब्यु गरेका हुन्। त्यसको दुई वर्ष पछि १९७५ मा सार्वजनिक शोलेले उनको करियरलाई माथि पुर्यायो।
अमजद पहिलो हिन्दी फिल्मका भिलेन हुन् जो पहिलोपटक बिस्कुटको ब्राण्ड एम्बेसडरको रुपमा देखिए।
तर शोले रिलिजको एक वर्ष पनि पुरा नभई अमजद एक भयानक सडक दुर्घटनामा परे। जसका कारण उनले धेरै औषधी सेवन गर्नु पर्यो। औषधीले उनको शरीर अत्याधिक मोटो मात्र बनाएन उनको शरीरमा अन्य रोगहरु देखिन थाले। २७ जुलाई १९९२ मा भने हृदय घातका कारण उनको निधन भयो।