काठमाडौं : एकादेशमा इन्टरनेशनल सर्ट फिल्म फेस्टिभलमा नेपालसहित ४३ देशका कूल ९९ सर्ट फिल्म प्रदर्शन हुने भएको छ। यही कात्तिक ३० देखि मंसिर ३ गतेसम्म हुने चार दिने फेस्टिभलमा नेपालबाट २१ फिल्मले सहाभागिता जनाउने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको हो। फेस्टिभल कमलपोखरस्थित कुमारी सिनेमा हलमा देखाइनेछ।
सन् २०१२ बाट शुरु भएको सर्ट फिल्म फेस्टिभल एकादेशमाको यो पाँचौ संस्करण हो। यस पटक चेन्जिङ पर्सपेक्टिभ, फ्युचर अफ सिनेमा, मेड इन बंगलादेश, पावर, एकादेशमा फिल्म ल्याब, एकादेशमा पिच पिट जस्ता विभिन्न विधामा फिल्म प्रदर्शन गराइने आयोजकले जनाएको छ।
नेपाली फिल्म इन्ड्रस्ट्रीका नायिकाद्वय मनिषा कोइराला, नम्रता श्रेष्ठ लगायत जुरी मेम्बरमा रहेका छन्।
चेन्जिङ पर्सपेक्टिभमा कम्पिटेटिभ फिल्म प्रदर्शन हुनेछ भने फ्युचर अफ सिनेमामा स्टुडेन्सहरुले बनाएको फिल्म प्रदर्शन हुनेछ।
यस्तै एकादेशमा ल्याबमा नेपाल र बंगलादेशका गरी कूल ९ फिल्म देखाइनेछ भने पिच पिटमा नेपालका चर्चित ९ निर्माताहरुले आफ्नो विचार राख्नेछन्।
लेट देयर बी लाइट विधामा ३८ फिल्म देखाइनेछ। यसैगरी प्यानल डिस्कसनमा चलिचित्रमा नारी र दक्षिण एसियाली आबद्धता विषयमा बहस हुनेछ।