
ललितपुर : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा कार्तिक २८ गतेदेखि पश्चिम नेपालको भ्रमणमा जाने भएका छन्।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सोमबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कार्तिक २८ गते प्रधानमन्त्री नेपालगञ्ज प्रस्थान गर्ने जानकारी दिए।
सोही दिन प्रधानमन्त्रीले सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखहरुसँग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्नेछन्। त्यस्तै, सोही दिन प्रधानमन्त्रीले अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसहित स्थानीय नेता र नेपाली कांग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्ताहरुसँग पनि भेटघाट गर्नेछन्।
खाँणका अनुसार प्रधानमन्त्री देउवा २९ गते धनगढी पुग्ने कार्यक्रम छ। सो दिन प्रधानमन्त्रीले पार्टीका उम्मेद्वार तथा नेता र कार्यकर्ताहरुसँग भेटघाट गर्नुका साथै सुदूर पश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखहरुसँग क्षेत्रको शान्ति, सुव्यवस्था र सुरक्षाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
३० गते प्रधानमन्त्री देउवा गृह जिल्ला डडेल्धुरा पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवाले गृह जिल्लालाई नै मुकाम बनाएर सुदूर पश्चिमाञ्चलका विभिन्न जिल्लाको निर्वाचन अभियानलाई गति दिंदै आमसभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। खाँणका अनुसार प्रधानमन्त्री देउवाले मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ।
मंसिर २ गते प्रधानमन्त्री देउवाले बझाङ्ग र बाजुराका आमसभाहरुलाई सम्बोधन गर्नेछन् । जिल्ला भ्रमणका अवसरमा प्रधानमन्त्री देउवाले जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीहरुसँग जानकारी लिनुका अतिरिक्त नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका नेता र कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री त्यसपछि रुकुम, रोल्पा जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभाहरुलाई सम्बोधन गर्न जाने कार्यक्रम रहेको भएपनि मिति भने निर्धारण भएको छैन।