
विराटनगर : एकातिर एमालेका केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई, अर्कातिर नेपाली काङ्ग्रेसका सङ्घर्षशील एवम् त्यागी नेता केशवप्रसाद दाहाल।
एमालेका युवा नेता योगेशको नाम राष्ट्रियस्तरमै लोकप्रिय र परिचित छ। काङ्ग्रेसका स्थानीय नेता दाहाल पनि जिल्लामा त्यत्तिकै लोकप्रिय र चर्चित हुन्।
स्थानीय तहको निर्वाचनमा दाहाल फुङलिङ नगरपालिकाबाट मेयरका आकांक्षी थिए। एमालेका प्रत्याशी छत्रपति प्याकुरेलसित २ सय ८९ मतको झिनो मतले उनी पराजित भएका हुन्।
योगेश दोस्रो संविधान सभाको निर्वाचन २०७० मा काठमाडौंको क्षेत्र नम्बर ६ बाट काङ्ग्रेसका भीमसेनदास प्रधानसँग पराजित नेता हुन्। निर्वाचनमा केशव स्थापितसमेतको उम्मेदवारीले भट्टराईले पराजयको पीडा सहनु परेको थियो।
मुलुकमै सूर्यको पहिलो झुल्को पर्ने भनेर नाम कमाएको पूर्वको हिमाली जिल्ला ताप्लेजुङमा सूर्य र रुखको चुनावी आरोहण तीव्रताका साथ बढिरहेको छ।
पूर्वको जिल्लाका साथसाथै प्रसिद्ध शक्तिपीठ पाथीभरा देवीको मन्दिरले चिनिएको ताप्लेजुङ एमालेका स्वर्गीय महासचिव एवम् जवजका सिद्धान्तकार मदन भण्डारीको जन्मस्थल पनि हो।
पूर्वमा भारतको सिक्किमसित जोडिने ताप्लेजुङको उत्तरमा चीनको तिब्बतस्थित टिपताला भञ्ज्याङ पर्दछ। त्यस्तै दक्षिणमा तेह्रथुम र पश्चिममा सङ्खुवासभा जिल्लाको सिमानाले छोएको छ।
पदयात्रा र पर्यटनका लागि प्रख्यात यस जिल्लामा पाथीभरा मन्दिर र कञ्चनजङ्घा हिमालका साथसाथ फुङफुङे नामको २ सय मिटरको झर्ना र तिम्बु नामको हिमाली सुन्दर हिमाली पोखरी पनि छ।
प्रतिनिधि र प्रदेश सभाको पहिलो चरणको निर्वाचनअन्तर्गत मङ्सिर १० गते हुने निर्वाचनमा भट्टराईसित निकटतम प्रतिस्पर्धा गर्ने आकांक्षी काङ्ग्रेसका दाहालमात्र देखिएका छन्।
सचिव भट्टराईको चुनावी प्रचार दाहालको भन्दा आधुनिक र आकर्षक देखिन्छ। सामाजिक सञ्जालको उपयोगमा भट्टराईले उछिनेका छन्। पार्टीका प्रचार प्रमुख उनले आफ्ना चुनावी सभा, घरदैलो र भेटघाटलाई फेसबुक लाइभमार्फत् सार्वजनिक गरिरहेका छन्।
उमेरले भट्टराईभन्दा झन्डै डेढ दशक जेठा दाहाल पनि चुनावी दौडमा कम छैनन्। बिहान ७ बजे दलबलसहित तयार भएर निस्कने उनी राति साढे ११ नबजी सुत्न पाउँदैनन्।
चुनावी सभा र जमघट हेर्दा योगेशले चुनावी माला पहिरिने अनुमान सजिलै लगाउन सकिन्छ। तर काङ्ग्रेस प्रत्यासी दाहाल पनि निरास छैनन्।
‘हो, हाम्रा साथीहरू भाषण र जमघटमा कमै आउनु हुन्छ’, दाहालको भनाइ थियो, ‘तर मत दिन सबै पुग्नुहुन्छ। अरू दलमा भने मान्छे बटुलेर तामझाम देखाउने चलन छ।’
भट्टराईका अनुसार २०७४ साल मुलुक र मुलुकवासीकै लागि भाग्य निर्माण गर्र्ने र खुसीयालीको वर्ष भएको छ। किनकि यही वर्ष चुनावमा ऐतिहासिक रूपमा वाम गठबन्धन भएको छ र दुई पार्टीका बीच एकता पनि हुँदैछ।
‘ताप्लेजुङमा नेकपा एमाले त्यसै पनि विजयको अवस्थामा थियो’, योगेशले भने, ‘गठबन्धनपछि अझ निश्चित भएको छ। यसअघि फरक फरक वामपन्थी दलहरूलाई चुनावमा जनताले तपाईँहरू किन फुटेर उठ्नु भएको भत्रे प्रश्न गर्थे। यो चुनावमा हर्षका आँसु खसालेर अबिर र माला लगाएर स्वागत गरेका छन्।’
कस्ता छन् योगेशका स्थानीय मुद्दा ?
वाम गठबन्धनले राष्ट्रियसँगसँगै स्थानीय विकासका मुद्दालाई पनि जोडतोडका साथ प्रचारमा ल्याएको छ। धनकुटाको मूलघाटदेखि तिब्बतको टिपताला भञ्ज्याङसम्म पुग्ने बाटोको ट्र्याक आधा खोलिएको र यस मार्गलाई ताप्लेजुङको सदरमुकामसम्म ल्याइपुर्याउने योगेशको प्रतिबद्धता छ।त्यस्तै तेह्रथुमको वसन्तपुरबाट मदन भण्डारीको जन्मस्थल ढुङ्गेसाँघु हुँदै फुङलिङ बजारसम्म सडक पुर्याउने, कञ्चनजङ्घा आधार शिविरको पदयात्राको मार्गलाई व्यवस्थित र सुविधासम्पत्र बनाउने, ताप्लेजुङदेखि दार्चुलासम्म पुग्ने हिमाली मार्गका लागि ताप्लेजुङमा काम सुरु गर्ने अनि प्रसिद्ध शक्तिपीठ पाथीभरामा केबलकार पुर्याउने घोषणा पनि उनले गरेका छन्।
दाहालका यस्ता मुद्दा
स्थानीय तहका विकासे मुद्दा प्रस्तुत गर्न एमालेका तुलनामा काङ्ग्रेस कमजोर देखिएको छ। तथापि टिपताला भञ्ज्याङसम्मको बाटो पूरा गरेर दुई मुलुक जोड्न विशेष पहल गरी सिधा सम्पर्क गराउन भूमिका खेल्ने कार्यक्रम राखेको छ।त्यस्तै, नयाँ पर्यटकीय मार्ग पत्ता लगाएर होमस्टेको प्रबद्र्धन गर्ने तथा विभित्र जनजातिका स्थानीय भाषा र लिपिलाई प्राथमिक कक्षाको पाठ््यक्रममा समावेश गर्ने काङ्ग्रेसको प्रतिबद्धता छ।
प्रदेश सभामा अपनाइयो समावेशिता
विशेषतः लिम्बू जातिको बाहुल्य रहेको ताप्लेजुङमा काङ्ग्रेस र वाम गठबन्धनले प्रतिनिधि सभाका लागि बाहुन उम्मेदवार प्रस्तुत गरेका छन्। कांग्रेसका दाहाल र एमालेका भट्टराई दुबै खस आर्यअन्तर्गत पर्दछन्।तर प्रदेश सभामा भने दुबैले लिम्बू जातिका आकांक्षी अगाडि सारेर समावेशिता अपनाउन खोजेका छन् ।ताप्लेजुङको प्रदेश १ र २ मा काङ्ग्रेसका तर्फबाट क्रमशः लीलादेवी बोक्खिम लिम्बू र दीपेन्द्रकुमार सेन्दाङ प्रत्यासी हुन्।
त्यस्तै वाम पक्षधरबाट १ मा एमालेका बलबहादुर साम्सोहाङ र २ मा माओवादी केन्द्रका टङ्क आङबुहाङ लिम्बू उम्मेदवार छन्।
जिल्लामा १ नगरपालिका, ८ गाउँपालिका तथा कुल मतदाता ७८ हजार ३९७ छन्।