
- लक्ष्मी गारु
विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आएका नेमकिपा अध्यक्ष बिजुक्छेले यसपटक नयाँ पुस्तालाई अघि सार्ने भन्दै पार्टी सचिव प्रेम सुवाललाई उठाएपछि यस क्षेत्रको प्रतिस्पर्धामा अन्य दल उत्साहित भएका छन्।
यस क्षेत्रमा बिजुक्छेको व्यक्तित्वका कारण नेमकिपाले चुनाव जित्दै आइरहेको र यसपटक बिजुक्छेले उम्मेदवारी नदिएपछि हुने प्रतिस्पर्धामा आममतदाताको पनि चासोको विषय बनेको छ। बिजुक्छेले भक्तपुर नगरभित्र धेरै सुधारका काम गरेपनि भक्तपुर नगर बाहिरको क्षेत्रमा केही गर्न नसकेको आरोप पनि उत्तिकै छ। भक्तपुर नगर उनको जन्मथलो पनि हो।
पञ्चायतकालमा चुनावलाई जनताको पक्षमा उपयोग गर्ने नेमकिपाको नीतिअनुसार २०३९ र २०४४ वडा अध्यक्षमा चुनाव जितेका पार्टी सचिव सुवाल २०५४ सालको स्थानीय निकायको निर्वाचनमा भक्तपुर नगरपालिकाको प्रमुखमा विजयी भएका थिए।
त्यसैगरी २०६४ सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेका सुवालले रूपान्तरित संसद्मा समेत प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरेका थिए।
उनी नगर प्रमुख हुँदा नेपालमै पहिलो पटक नगरपालिकाबाट विद्यालय सञ्चालनको कार्य गर्नुका साथै न्यूनतम शुल्कमा कलेजसमेत सञ्चालन गरेर स्थानीय जनतालाई शिक्षा आर्जनको अवसर दिइएको थियो।
राज्यबाट शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने नेमकिपाले माग गरेपनि नगरपालिकाले सञ्चालन गरेको विद्यालय र कलेजमा शिक्षा निःशुल्क भने हुन सकेको छैन।
फेरि पनि संसद्मा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई खबरदारी गर्न आफ्नो उम्मेदवारी रहेको उम्मेदवार सुवालले बताए।
उनले भने,‘विगतमा देश र जनताका भावनाअनुसार गरेको कामको मूल्यांकन गर्दै जनताले नै फेरि एकपटक जनताको सेवा गर भनेकाले देश र जनताका लागि नै मेरो उम्मेदवारी हो।’
सुवालले आफ्ना पार्टी अध्यक्षले लगातार पाँच पटक चुनाव जितेर यस क्षेत्रको विकासमा पुर्याएको योगदानको कदरस्वरूप यसपटक भक्तपुर १ का मतदाताले आफूलाई जिताउने विश्वास व्यक्त गरे।
त्यसैगरी नेपाली कांग्रेसले भक्तपुर १ मा वरिष्ठ अधिवक्ता बाबुराजा जोशीलाई उठाएको छ। नेपाल कानुन आयोगका अध्यक्षसमेत भईसकेका जोशी जिल्ला बारबाट वरिष्ठ अधिवक्ताको उपाधि पाउने पहिलो अधिवक्ता हुन्।
राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका जोशी विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश गरेका हुन्। विसं२०४४ को निर्वाचनमा जनपक्षीय उम्मेदवारको प्रस्तावक बनेका जोशीले भक्तपुरका कांग्रेसको संगठन स्थापना र विस्तारका साथै विभिन्न पदमा बसेर कार्य गरेका छन्।
पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै हाल महासमिति सदस्य रहेका जोशीले आफ्नो उम्मेदवारी भक्तपुरमा लोकतन्त्र स्थापनाको लागि भएको बताए।
मुलुकमा धेरै अघि लोकतन्त्र आए पनि लोकतान्त्रिक आन्दोलनमा अहम् भूमिका निर्वाह गरेको भक्तपुरमा अझै एक दलीय व्यवस्था समाप्त हुन नसकेको जिकिर गर्दै त्यसैको अन्त्यको लागि आफ्नो उम्मेदवारी भएको जोशीले बताए।
लोकतान्त्रिक गठबन्धनअन्तर्गत यस क्षेत्रमा बलियो उपस्थिति रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को पनि समर्थन रहेकाले यसपटक भक्तपुर १ मा नेमकिपाको किल्ला भत्किने जोशीको दाबी छ।
नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनमा भएको सहमतिअनुसार भक्तपुर क्षेत्र नं १ मा माओवादी केन्द्रका मिलन सुवाल पनि चुनावी प्रतिस्पर्धामा छन्। विद्यार्थीकालदेखि राजनीतिमा प्रवेश गरेका सुवाल सम्मुनत राष्ट्र निर्माण गर्न, देशलाई स्वाधिन, समृद्ध र समाजवादको दिशामा अगाडि बढाउन आफ्नो उम्मेदवारी रहेको बताउँछन्।
यस क्षेत्रमा २०७० सालको संविधानसभा निर्वाचनमा नेमकिपाका बिजुक्छेले २० हजार ४४६, नेपाली कांग्रेस कृष्णलाल भँडेलले १२ हजार ८२६, नेकपा एमालेका रञ्जु नापितले ५ हजार ६६८, माओवादीका सानु सुवालले ६ हजार २१६ र राप्रपाका रवीन्द्र प्रताप शाहले ४ हजार ४५८, राप्रपा नेपालका माधव खत्रीले दुईहजार ६४३ मत प्राप्त गरेका थिए।
भक्तपुरमा यस पटक क्षेत्र निर्धारण गर्दा विगतको सिमाना हेरफेर गरिएको छ। यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिकाको आधा भाग यस क्षेत्रमा रहेकोमा यसपटक मध्यपुर थिमि क्षेत्र नं २ मा परेको छ भने यसअघि क्षेत्र नं २ मा रहेको भक्तपुर नगरपलिकाको भाग यस पटक क्षेत्र नं १ मा परेको छ। यस क्षेत्रमा चाँगुनारायण नगरपालिका छ।
स्थानीय तहको निर्वाचनको मतलाई विश्लेषण गर्दा यस क्षेत्रमा नेमकिपाको ३० हजारभन्दा बढी मत छ भने नेपाली कांग्रेसको १४ हजार ५००, नेकपा एमालेको १३ हजार, राप्रपाको छ हजार, माओवादीको तीन हजार मत देखिन्छ।रासस