
विराटनगर : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले कार्यकारी प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीबाट मुलकको लोकतन्त्रमा विकृति ल्याउने बताएका छन्।
नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा गच्छदारले मुलुकमा विविध जनसंख्याको संरचना रहेकाले कार्यकारी पद्धतिबाट सबै जातजातिको प्रतिनिधित्व हुन नसक्ने बताए।
गच्छदारले देश संघीयतामा गइसकेको तथा सिंहदरबारको अधिकार निर्वाचित स्थानीय निकायमा आइसकेको अवस्थामा अब पुनः केन्द्रीकृत पद्धति ल्याउनु लोकतन्त्रलाई विवादमा ल्याउनु मात्र भएको बताए।
उनले सुनसरी, मोरङ र झापा जिल्ला मिलाएर एक अलग्गै प्रदेश निर्माण गर्ने विषय अहिले पनि जीवित रहेको भन्दै विराटनगर र इटहरी मिलाई बृहत् महानगर निर्माण गरी प्रदेशको राजधानी तोकिनुपर्ने बताए।
उपप्रधानमन्त्री गच्छदारले नयाँ संविधानले नागरिकतासम्बन्धी समस्या धेरै हदसम्म समाधान गरेको भन्दै केही बाँकी रहेका समस्या अब बन्ने नयाँ सरकारले ऐनद्वारा समाधान गर्ने विश्वास व्यक्त गरे।
उनले निर्वाचनको समयमा शान्ति सुरक्षा कायम गर्न सरकार कटिबद्ध रहेको उल्लेख गर्दै केही दिन अगाडि उम्मेदवारमाथि आक्रमणको प्रयास हुनु केही छिटफुट घटना मात्र भएको बताए।रासस