डोल्पा : आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा दलहरु विभिन्न विकासका एजेण्डा लिएर जनताको घरदैलो गरिरहेका छन्।
पहिलो चरणको प्रचारप्रचार दशैँअघि नै सम्पन्न गरेर दोस्रो चरणको प्रचारमा जुटेको वाम गठबन्धनले पनि डोल्पाको विकासका लागि विभिन्न एजेण्डासहित घरदैलो गरिरहेको छ।
एमाले र माओवादी केन्द्रको गठबन्धनले डोल्पाको विकासका लागि पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको छ। ‘आधारभूत आवश्यकका रूपमा रहेका शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार सुविधालाई प्रभावकारी बनाउने गठबन्धनको लक्ष्य रहेको प्रदेश क्षेत्र नं ‘क’ का एमालेका उम्मेदवार नन्दसिंह बुढाले जानकारी दिए।
डोल्पा पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकाले प्राकृतिक धार्मिक तथा ऐतिहासिक सम्पदाको विकासका लागि गुरुयोजना बनाउने र एकघर एक होमस्टेको अवधारणा ल्याएर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको उम्मेदवार बुढाको भनाइ छ।
एमालेका उम्मेदवार धनबहादुर बुढा र नेपाली कांग्रेसले पनि विभिन्न एजेण्डासहित चुनाव प्रचारप्रचारमा जुटेको छ। जिल्लामा व्याप्त आर्थिक अनियमितता न्यूनीकरणका लागि काम गर्ने प्रतिबद्धतासहित चुवान प्रचारप्रचार गरिरहेको प्रतिनिधिसभाका अर्का उम्मेदवार अंगत बुढाले जानकारी दिए।
जिल्लाको विकासका लागि ठोस खाकासहित शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारको विकास गर्ने र पछिल्लो समयमा रोजगारीका लागि डोल्पाली युवा विदेशिने क्रम बढेकाले यसलाई रोक्न विभिन्न कार्यक्रम ल्याउने एजेण्डा रहेको बुढाको भनाइ छ।
उपल्लो डोल्पामा प्रचारप्रचार कार्यक्रम सम्पन्न गरेर अहिले तल्लो डोल्पाका बस्तीमा घरदैलो कार्यक्रममा जुटेको कांग्रेसले जनाएको छ।रासस