
तेहरान : इरान र इराकको सीमाक्षेत्रमा आइतबार गएको ७.३ म्याग्नीच्युडको भूकम्पपछि दशौँ हजार इरानीले दोस्रो रात पनि खुल्ला आकासमुनि रात विताएका छन्।
भूकम्पमा परी ४०० भन्दा बढी इरानीको मृत्यु भएको छ। भूकम्पकमा ६६ हजार भन्दाबढी घाइते भएका उल्लेख गरिएको छ । ७.३ म्याग्निच्युड मापन गरिएको भूकम्पको कुवेत पनि धक्का महसुस गरिएको छ।
कुर्दनजिकैको सहर हलब्जामा केन्द्रबिन्दु रहेको भूकम्प इरानको इतिहासमा आएका शक्तिशाली भूकम्पमध्ये एक हो। भूकम्प प्रभावित क्षेत्रमा उद्धारका काममा खटिरहेका उद्धारकर्मीका अनुसार मृतकको सङ्ख्या अझै बढ्नसक्ने छ।
भूकम्पको कारण भत्किएका भग्नावशेषबाट केही व्यक्ति मात्र निकाल्न सफल भएको र अझै कैयौँ पुरिएको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ।
इरान र इराकको सीमा क्षेत्रमा भूकम्प गएको भएपनि विशेष गरी इरानतर्फका आठवटा गाउँमा बढी क्षति भएको छ। साथै अरु पनि कैयौँ गाउँ र सहरमा बिजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा अवरुद्ध छ।
भूकम्पले कतिपय स्थानका सडक भास्सिएका छन्। केही स्थानमा पहिरोले आवतजावत नै बन्द गराएको छ। उद्धार टोलीलाई क्षतिग्रस्त स्थानमा पुग्नसमेत कठिनाइ भएको छ।
भूकम्पलगत्तै अत्तालिएर घरबाहिर सडकमा निस्किएका व्यक्तिमा त्रास अझै हटेको छैन। बारम्बारको पराकम्पले उनीहरूको त्रासलाई झन बढाएको थियो। पराकम्पको कुवेतमासमेत त्रासको स्थिति रहेको छ।
सन् १९९० मा इरानमा गएको ७.४ म्याग्नीच्युडको भूकम्पका कारण ४० हजारको मृत्यु हुनुको साथै अन्य तीन लाख व्यक्ति घाइते भएका थिए।रासस/एएफपी