भक्तपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनदेखि आत्तिएकाले एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार हत्याको षडयन्त्र गर्न थालेको आरोप लगाएका छन्।
मंगलबार मध्यपुरथिमिको लोकन्थलीमा एमालेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले वाम गठबन्धनका उम्मेदवारमाथि मात्रै हत्या गर्ने योजनासहित आक्रमण हुनुमा सरकारको समेत संलग्नताको रहेको आशंका गरे।
सरकारले कार्यकर्तालगायत विभिन्न व्यक्तिलाई २३ करोड बाँड्नु र बम पड्कनुको सम्बन्ध त छैन भन्दै ओलीले भने, “सरकारी ढुकुटी दोहन गरेर सरकारले २३ करोड कार्यकर्ता र विभिन्न व्यक्तिलाई बाँडेको छ, त्यसपछि गोली र बम पड्किन थालेको छ, गठबन्धनका उम्मेदवारमाथि छानीछानी आक्रमण हुन थालेको छ, यसको तालमेल कहाँ छ सरकार ?”
सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेर सरुवा, बढुवा गरेको, राज्य कोषको दुरुपयोग गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले लोकतन्त्रमा मनपरी गर्ने छुट सरकारलाई पनि नभएको जिकिर गरे। उनले निर्वाचन अगाडि एमाले माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्न नभ्याएकाले निर्वाचनपछि दुई पार्टी एक हुने दाबी गरे।रासस