PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

प्रचण्डको प्रतिबद्धता : पाँच वर्षमा ५० हजारलार्इ रोजगारी



पहिलोपोस्ट

 प्रचण्डको प्रतिबद्धता : पाँच वर्षमा ५० हजारलार्इ रोजगारी

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको विकास र समृद्धिमा महत्वकांक्षी योजना अघि सारेका छन्।

चितवन निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अध्यक्ष दाहालले समृद्ध चितवनको लागि सातवटै गाउँपालिका एकीकरण गरी “चितवन मेट्रो सिटी” बनाउने उद्देश्यसहित विकास र समृद्धिको खाका र प्रतिबद्धता–पत्र जारी गरेका हुन्।

समृद्ध र विकसित चितवनअन्तर्गत दहालले ५ वर्षभित्र ५० हजार रोजगार सिर्जना गर्ने, मेट्रो, मोनो रेल निर्माण, फराकिलो रिङ्गबरोड, अन्तर्राष्ट्रियस्तरको खेलकुद रङ्गशाला निर्माण गर्ने महात्वकांक्षी योजनाहरुमा सार्वजनिक गरेका हुन्।

समृद्ध र विकसित चितवनको सपनाअन्तर्गत ‘प्रचण्ड रोजगार योजना’, ‘प्रचण्ड आवास योजना’, ‘चितवन औद्योगिक नगरी’, ‘समृद्ध माडी सम्पन्न माडीवासीको सपना’, ‘चितवन कृषि शिक्षा र उत्पादनको मुख्य केन्द्र’, ‘सामुदायिक शिक्षामा क्रान्तिकारी विकास’, ‘चितवन कृषि शिक्षा र उत्पादनको मुख्य केन्द्र’, ‘सामुदायिक शिक्षामा क्रान्तिकारी विकास’, ‘पर्यटकीय चितवन नगरीका लागि विशेष योजना’, ‘चितवनलाई मेडिकल राजधानी बनाउने’, ‘चितवनको विकास निर्माण’को स्वामित्व जस्ता महत्वकांक्षी योजनालाई प्रतिवद्धता पत्रमा समेटेका छन्।

चितवनका जनताको विश्वासमा राष्ट्रिय नेतृत्व लिएर देशलाई समृद्धि र समानताको नयाँ अभियानको बाटो अगाडि बढाउने संकल्पसहित दाहालले मेघौली विमानस्थललाई सञ्चालनमा ल्याउने, खेतीयोग्य, औद्योगिक क्षेत्र र आवास क्षेत्रमा भूमिको वर्गीकरणको नीति लिने,  नारायणी नदीमा ३ वटा थप पुल निर्माण गरिने, खेतीयोग्य, भण्डरा–मलेखु सडकलाई स्तरोन्नतिसहित पूर्णता दिइने, अन्तर्राष्ट्रियस्तरको मनोरञ्जन पार्क (फनपार्क) निर्माण गर्ने, सञ्चार अध्ययन प्रतिष्ठान स्थापना गर्न पहल गरिने प्रतिवद्धता उनले उल्लेख गरेका छन्।

उद्योग, कृषि, सेवा, यातायात लगायतका क्षेत्रहरुबाट आगामी ५ वर्षभित्र ५० हजार नयाँ रोजगार सिर्जना गर्ने र यस्ता रोजगारहरुमा चितवनका विपन्न परिवारलाई प्राथमिकतामा राख्ने प्रतिवद्धतामा उल्लेख गरेका छन। दाहालले प्रधानमन्त्री हुँदा घोषणा गरिएको “औद्योगिक क्षेत्र” को समग्र विकासमा एकीकृत योजना निर्माण गरी देशभित्र र बाहिरका उद्योगीलाई व्यापक आकर्षित बनार्इ आगामी पाँच वर्षभित्र औद्योगिक सहर निर्माण गर्ने प्रतिबद्धता उनले जनाएका छन।

आगामी पाँच वर्षमा माडी र बाँकी चितवन जोड्ने गरी राष्ट्रिय निकुञ्जमा सुरुङ्गमार्ग वा सडकमध्ये एक निर्माण गर्ने सडक निर्माणले यातायात, विद्युत, टेलिफोन, इन्टरनेट सेवा उपलब्ध हुन सहज हुने दाहालको विश्वास छ।

जनयुद्धमा हाम्रो पार्टीको भूलवश भएको बाँदरमुढे दुर्घटनामा दिवङ्गतहरुको चिरस्मरणमा पार्क निर्माणमा प्रतिवद्धतासमेत दाहालले गरेका छन।

विद्यालय शिक्षाको स्तरीकरणका लागि उचित नियमनको व्यवस्था गर्न चितवनका ७ वटै स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने, जिल्लाका कम्तिमा २५ प्रतिशत विद्यालयहरु नमूना विद्यालय बनाउने गरीब तथा न्यून आय भएका अभिभावकका बालबालिकाको शिक्षाका लागि तत्काल मन्टेश्वरी कक्षासहितको सामुदायिक विद्यालय स्थापना गर्न दाहालले प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन।

चितवनलाई देशकै स्वास्थ्य सेवाको प्रमुख केन्द्रमा विकास गर्न विशेष योजना गरी आवश्यक पहल गरिने प्रतिवद्धतासमेत गरेका छन्। यस अन्तर्गत बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्तरोन्नती र सेवालाई व्यवस्थित बनाउने, भरतपुर अस्पताललाई विकास गरी मेडिकल कलेजमा निर्माण गर्ने, क्षयरोग, मलेरिया, डेंगु, एचआइभी जस्ता सङ्क्रामक रोगविरुद्ध प्रभावकारी कदमका लागि केन्द्रीयस्तरमा विशेष कार्यक्रमसमेत प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell