
इराक : इराकको स्वशासित कुर्दिस क्षेत्रमा जनमतसङ्ग्रहमार्फत स्वतन्त्रताको घोषणा गर्ने तयारी भएका समय यही नोभेम्बर ६ मा सर्वोच्च अदालतले स्वतन्त्रताको घोषणामा रोक लाग्ने गरी निर्णय दिएपछि कूर्दिस समुदाय वार्तामार्फत समस्याको समाधान खोज्न तयार देखिएको छ।
अदालतको स्वतन्त्रता घोषणामा रोक लगाउने निर्णयपछि कूर्दिस समुदाय अदालतको आदेशलाई आधार बनाउँदै वार्ताका लागि तयार भएको हो।
वक्तव्य जारी गरी कूर्दिस समुदायको बाहुल्यता रहेको क्षेत्रीय सरकारले सर्वोच्चको निर्णयलाई मान्न तयार रहेको जनाएको छ। वक्तव्यमा भनिएको छ, ‘संघीय सर्वोच्च अदालतको नोभेम्बर ६ को निर्णयलाई हामी मान्न तयार छौँ।’
कूर्दिस क्षेत्रीय सरकारको पछिल्लो निर्णयले उक्त क्षेत्रको बग्दादसँगको तनावलाई घटाएर लाने सङ्केत देखिएको छ।
कूर्दिस समुदायको बाहुल्लय रहेको उक्त क्षेत्रमा केही समय पहिले भएको निर्वाचनमा ९० प्रतिशत मतदाताले स्वतन्त्रताको पक्षमा मतदान गरेका थिए। तर जनमतसङ्ग्रहलाई केन्द्र सरकारले मान्यता दिएको छैन।
जनमतसङ्ग्रहपछि केन्द्र सरकारले कूर्दिस समुदायको बाहुल्यता रहेको उत्तरी सहर किर्कुक लगायतका अन्य भागलाई आफ्नो नियन्त्रणमा लिएको छ।
बग्दाद अर्थात् केन्द्र सरकारले कूर्दिस अधिनस्त क्षेत्रीय सरकारसँग वार्तामा बस्नु पहिले मतदानको निर्णयलाई बदर गर्नुपर्ने बताउँदै आएको छ। रासस/सिन्ह्वा