PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

किन बढ्दैछ उम्मेदवारमाथि आक्रमण, के गर्दैछ सुरक्षा निकाय ?



पहिलोपोस्ट

किन बढ्दैछ उम्मेदवारमाथि आक्रमण, के गर्दैछ सुरक्षा निकाय ?

काठमाडौं :  मंगलबार बिहानै नेकपा एमाले भोजपुरका प्रदेशसभाका उम्मेदवार शेरधन राईलाई लक्षित गरी ट्याम्केमैयु गाउँपालिका वडा ७ को गुम्बा भन्ने ठाउँमा बम प्रहार भयो।

बम प्रहारबाट उनी चढेको गाडीमा क्षति पुगे पनि उनी सकुसल रहे। उनका अंगरक्षक भने घाइते भए। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गीतनारायण चौधरीले घटना कसले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको बताए।

राई मात्र होइन विगत केही दिनदेखि उम्मेदवारहरु आक्रमणको निसानमा पर्दै आएका छन्। तर सुरक्षा निकायले भने कसले घटना गराएको भन्ने अझै पत्ता लगाउन सकेको छैन। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नै घटना गराएको अनुमान मात्र प्रहरीसँग छ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपाने चुनावी सुरक्षा कडा भए पनि प्रहरीको उपस्थिति नभएको मौकामा आक्रमणको प्रयास भएको बताउँछन्। 

गृहमन्त्री जनार्दन शर्मालाई बिना विभागीय मन्त्री बनाएपछि गृह मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री शेरबहादुर देउवासँग छ। त्यसोत पूर्व गृहमन्त्री शर्मा पनि आक्रमणकारीको निसानमा परिसकेका छन्। शर्मामाथि चुनावी प्रचार प्रसार सकेर फर्किने क्रममा रुकुमको चौरजहारी नगरपालिका–८ को गोइरीमा २ वटा बम प्रहार भएको थियो।

रेडबुलको बट्टामा पिठो लगायतका घरेलु सामग्री प्रयोग गरी तर्साउन खोजिएको प्रहरीको दाबी छ। शर्मामाथि आक्रमण भएको २४ घण्टा नबित्दै रोल्पामा माओवादी नेता वर्षमान पुनको गाडीलाई लक्षित गरी माइन बिस्फोट गराइयो।

गृह मन्त्रालयले निर्वाचन सुरक्षा रणनीति लागू गरिसकेको छ। सरकारले देशभर नै निर्वाचका लागि भन्दै ९८ हजार म्यादीसहित २ लाख ७२ हजार सुरक्षाकर्मी परिचालन गरे पनि केही दिन यता हेभिवेट नेतामाथि आक्रमण भइरहेको छ।

निर्वाचन आयोगले सरकारलाई पटकपटक नेताहरुको सुरक्षामा ध्यान दिन आग्रह गरिरहेको छ। दलहरुबीचको धुब्रीकरण र हेभिवेटका नेता भएकाले चुनावी सुरक्षा चुनौती थपिएको निर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह बताउँछन्।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell