काठमाडौं: ग्रामिण क्षेत्रमा व्याप्त गरिबीको विषयवस्तुमा आधारित फिल्म ‘फिक्का’को रिलिज मिति तय भएको छ। फिल्म आउँदो मंसिर १५ गतेबाट प्रदर्शनमा आउने भएको हो।
पारिवारिक प्रेमकथालाई समेत चित्रण गरिएको फिल्मको निर्माण नेपालकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले गरेकी हुन्। जसलाई युवा निर्देशक जनक खड्काले निर्देशन गरेका हुन्। कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको हास्य कार्यक्रम ‘ट्वाक्कटुक्क रिटर्नस्’का सहायक निर्देशकको रुपमा कार्यरत खड्काले यसअघि २१ वर्षकै उमेरमा फिल्म ‘२१ वर्ष’ निर्देशन गरेका थिए।
फिक्काको वर्ल्ड प्रिमियर भने जापानमा भैसकेको छ। ‘फिक्का’मा अजय सुनार, दुर्गाराज पाण्डे, शर्मिला नेपाल, राधिका घिमिरे, ईश्वरी बराल, मुस्कान काप्री आदि कलाकारले अभिनय गरेका छन्। रीता खाती सुनारको लेखन, एनबी अञ्जानको कला निर्देशन रहेको यो फिल्ममा राजु श्रेष्ठको सम्पादन, अनन्त घिमिरेको कलर करेक्सन, अमित श्रेष्ठले व्याकग्राउण्ड म्युजिक तथा मिक्सिङ गरेका छन्।