धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा लोकतन्त्र वा अधिनायकवाद कसलाई रोज्ने भन्ने निर्णय गर्ने अधिकार जनतालाई रहेको बताएका छन्।
कैलाली निर्वाचन क्षेत्र नं २ को लम्कीमा आज आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले लोकतन्त्रमा मात्र व्यक्तिको स्वतन्त्रता हुने भएकाले एकदलीय कम्युनिष्ट व्यवस्थामा यो अधिकार नहुने बताए।
देउवाले देश चुनौतीपूर्ण मोडमा उभिएको भन्दै नेपाली कांग्रेसले मात्र देशको समृद्धि र विकास गर्न सक्ने दावी गरे।
उनले भने,‘म सुदूरपश्चिमवासीकै सहयोगमा चार चार पटक प्रधानमन्त्री भएँ, म सँग झगडा गर्ने, लड्ने अधिकार र हक तपार्इँहरुसँग छ।’
प्रधानमन्त्री देउवाले कर्णाली नदीमा बनेको पुलका साथै पूर्व–पश्चिम राजमार्गको चिसापानी–महेन्द्रनगर सडक खण्डमा २२ वटा पुल आफ्नै नेतृत्वको सरकारले निर्माण गरेको उल्लेख गर्दै आफू सुदूरपश्चिमकै बासिन्दा भएकाले आफूलाई बलियो बनाउन सहयोग गर्न आग्रह गरे।रासस