PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

मुस्ताङमा १३ मतअन्तरले जितेका गौचन र हारेका तुलाचनबीच रोचक भिडन्तः जोगाउलान् त गौचनले विरासत ?



नरहरि पौड्याल

मुस्ताङमा १३ मतअन्तरले जितेका गौचन र हारेका तुलाचनबीच रोचक भिडन्तः जोगाउलान् त गौचनले विरासत ?

कास्की :   हिमालपारीको जिल्ला मुस्ताङमा एकातिर दैनिक चिसो बढिरहेको छ भने अर्कोतिर चुनावी सरगर्मी। एउटै मात्र प्रतिनिधिसभा र २ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको मुस्ताङमा चुनावी मिति नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको हो। 

पहिलो चरण अन्तरगत आगामी मंसिर १० मा हुने निर्वाचनमा कांग्रेसकोतर्फबाट तीन कार्यकालसम्म सांसद बनेका पूर्व वााणिज्य मन्त्री रोमी गौचन थकाली र वाम गठबन्धनकातर्फबाट एमालेका प्रेमप्रसाद तुलाचनबीच रोचक भिडन्त हुने भएको छ।

गौचन मुस्ताङबाट प्रतिनिधिसभामा तीन पटकसम्म सांसद बनिसकेका छन्। गौचन हिमालपारीको बिकट जिल्ला मुस्ताङमा आफ्नोे विरासत कायम राख्न चाहन्छन् भने एमालेका तुलाचन उनको विरासतलाई भत्काउन कम्मर कसेर लागेका छन्।

जुनसुकै हातलमा गौचनको बिरासतलाई तोड्न तुलाचन रणनीतिक योजना बुन्दैछन्।उनीहरु दुबै नातेदार र एउटै गाउँका बासिन्दासमेत हन्। उनीहरु दुईबीच चुनावमा तिब्र प्रतिस्पर्धा हुने देखिएको छ। 

२०७० को निर्वाचनमा दुबै जना चुनावी मैदानमा होमिएका थिए। तर,कांग्रेसका गौचनले तुलाचनलाई जम्मा १३ मतअन्तरले पराजित गरेका थिए।

पहिला कांग्रेसमै क्रियाशील तुलाचन पार्टीले टिकट नदिएपछि स्वतन्त्र उमेदवारको रुपमा चुनावमा उठेका थिए।कांग्रेसका उम्मेदवार गौचन ०५६ र ०७० सालको निर्वाचनमा निर्वाचित भएका थिए। 

त्यसैगरी उनी ०६४ को निर्वाचनमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य भएका थिए। यस्तै एमालेका उम्मेदवार तुलाचन मुस्ताङका चर्चित निर्माण व्यवसायी हुन्।उनले होटलदेखि ट्राभल एजेन्सी र निर्माणलगायतका काम गर्दै आएका छन्। 

मुस्ताङमा लामो समयसम्म कायम रहेको यातायातको सिण्डिकेट खारेज गर्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए। उनकै दवावमा सिन्डिकेट अन्त्य भएको थियो। 

लामो समय एउटै पार्टी कांग्रेसमा रहेर राजनीति गर्दै आएका दुबै उम्मेदवार त्यस क्षेत्रका लोकप्रिय उम्मेदवारकारुपमा चिनिन्छन्। गत निर्वाचनमा कांगेसले गौचनलाई टिकट दिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएर जम्मा १३ मतले पराजित भएका तुलाचनलाई कम आँकलन गर्न मिल्दैन।

यसपटक अझ उनलाई एमाले र माओवादी केन्द्रकोसमेत साथ भएका कारण बलियो उम्मेदवारको रुपमा हेरिएको छ। कांग्रेस र वाम गठबन्धनका उम्मेदवार अहिले माथिल्लो मुस्ताङमा मतदाताको घरदैलोमा पुगेका छन्।

चिसो ह्वात्तै बढेकाले आधा जसो मतदाता बेंसीतर्फ झरिसकेका छन्। जसकारण राजनीतिमा प्रतिबद्ध कार्यकर्ता र केही रैथाने घरकुरुवाको मतबाट नै उम्मेदवारले चित्तबुझाउनु पर्नेछ।

प्रदेश क मा लोमान्थाङ ३ का मिक्यूर गुरुङ कांग्रेस र लोमान्थाङकै ईन्द्रधारा विष्ट वाम गठबन्धनबाट चुनावी मैदानमा छन्। दुबै उम्मेदवारका चुनावी एजेण्डा कोरला नाका, सडक सञ्जाल, ग्रामिण विद्युतीकरण र पर्यटन पूर्वाधार हो। 

कांग्रेसमा लामो समयसम्म रहेर राजनीति गर्दै आएका ईन्द्रधारा विष्ट वाम गठबन्धनमा प्रवेशगरी चुनावी मैदानमा उत्रिएपछि कांग्रेसका उम्मेदवारसँग कडा टक्कर पर्ने अनुमान गरिएको छ। 

प्रदेश क मा नै पर्ने दालोमे गाउँपालिकाका अध्यक्ष तथा कांग्रेसका पुराना अगुवा राजु विष्ट र चराङ गाउँकी कांग्रेसकी अगुवा माया विष्टसहित उम्मेदवार बनेका विष्ट एमाले प्रवेश गरेपछि कांग्रेसलाई यो चुनाव कठिन बनेको हो।

त्यस्तै, प्रदेश ख मा पनि कांग्रेस र वाम गठबन्धनबीचनै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। कांग्रेसका छिरिङधावा गुरुङ र एमालेका महेन्द्र बहादुर थकालीबीच चुनावी प्रतिस्पर्धा हुने छ। 

त्यसैगरी यस क्षेत्रमा राप्रपा (प्रजातान्त्रिक)को तर्फबाट प्रवीण शेरचनसमेत चुनावी मैदानमा छन्। मुस्ताङमा ३७ मतदान केन्द्रमा ९ हजार ४ सय २७ मतदाता रहेका छन्। उपल्लो मुस्ताङ समेटिएको प्रदेश ‘क’ मा ३ हजार १ सय ५६ र तल्लो मुस्ताङ समेटिएको प्रदेश ‘ख’ मा ६ हजार २ सय ७१ मतदाता छन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell