PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

मधेशमा भोट माग्न 'शहीद' सुत्र



बीपी साह

मधेशमा भोट माग्न 'शहीद' सुत्र

जलेश्वर (महोत्तरी) : चुनावी अभियानमा अन्य दलसरह नै मधेश केन्द्रित दल पनि चुनावी सभा र घरदैलो कार्यक्रम गर्दैछन्। तर, अन्य दलहरुको चुनावी सभा र घरदैलोभन्दा मधेशी दलका नेताहरुको शैली र सुत्र नै फरक छ।

मधेशी दलको चुनावी सभाको प्रत्येक मञ्चमा तेस्रो मधेश आन्दोलनका शहीदहरुको तस्बिर राखिने गरिन्छ। र, सभाकै सुरुमा एक मिनेटको मौन धारण। त्यसपछि शहीदको फोटोमा माल्यार्पण अनिवार्य नै बनेको छ।

रोचक के छ भने मधेशी दलका जुनसुकै उम्मेदवार वा नेताले भाषण सुरु गर्दा मधेश आन्दोलनका शहीदको कुरा गर्छन्। कांग्रेस, एमाले, माओवादी नेतृत्वको सरकारले मधेशीहरुको छाती र टाउँकोमा ताकेर गोली हान्न लगाएको आरोप लगाउँछन्।

त्यतिमात्रै होइन मधेशी दलका उम्मेदवारहरुले चुनावी अभियानमा बजाउने गरेको गीतहरुमा पनि मधेश आन्दोलनका शहीद र सरकारले चलाएको गोलीको चर्चा हुने गर्छ। 

राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी महोत्तरी प्रतिनिधि सभाको निर्वाचन क्षेत्र दुईबाट चुनावमा उठेका छन्। गाउँघरमा टाँसिएको उनको प्रत्येक पाम्प्लेटमा शहीदको फोटो लहरै राखिएको छ।

वुधबार महोत्तरीको दुई नम्बर निर्वाचन क्षेत्रको प्रदेश सभा निर्वाचन क्षेत्रको ख अन्तर्गत बलबा नगरपालिका वडा नम्बर दुई बदियामा राजपाको चुनावी सभा आयोजना थियो। उक्त सभालाई पूर्वमन्त्री एवं सो क्षेत्रका प्रदेश सभाका उम्मेदवार सुरिता साहले सम्बोधन गर्दै थिइन्। 

सभा सुरु हुने वित्तिकै साहले मधेश आन्दोलनका शहीदको चर्चा गरिन् र मधेश आन्दोलनका शहीदको सपना साकार गर्न राजपालाई भोट दिनु पर्ने बताइन्। गैर मधेशवादी दलले मधेशीहरुको हत्या गरेको आरोप लगाउँदै ‘हत्यारा दल’हरुलाई भोट नदिन आग्रह गरिन्।

सभापछि पहिलोपोस्टसँग कुराकानी गर्दै साहले भनिन्, ‘हाम्रो मुख्य एजेण्डा संविधान संशोधन नै हो। संविधान निर्माणको क्रममा र संशोधनको माग उठाउने क्रममा राज्यबाट दर्जनौं मधेशीको हत्या भएको छ। ती हत्याहरुलाई मधेशी जनताले आफ्नो आँखाले आफ्नो वरिपरि देखेका छन्। सोही भएर हामी शहीदको कुरा उठाउँदै मधेश आन्दोलनको सम्झना गराउने गरेका छौं।’

यता स्थानीय शिक्षक कौशल मण्डल भने मधेशी जनता भावनामा वग्ने भएकाले नेताहरु यस्तो भाषणमा जुट्ने बताउँछन्। उनले पहिलोपोस्टसँग भने,‘मधेशी जनता भावनामा बढी बग्ने गरेका छन्। त्यसकारण नेताहरुले पहिले भावनात्मक कुरा गर्छन्। त्यसपछि भोट माग्छन्। यो शैली पहिलो संविधान सभाको निर्वाचनमा मधेशी जनअधिकार फोरमले सुरु गरेको थियो। अहिले सबै मधेशवादी दलहरुले यही शैली अपनाएका छन्।’

मधेशका अन्य जिल्लाहरुमा पनि मधेशी दलका उम्मेदवारहरुले सुरुमै शहीदको कुरा उठाउँदै भोट माग्ने गरेका छन्। 

राजपाका संयोजक महन्थ ठाकुरले पनि महोत्तरीमा गर्ने प्रत्येक भाषणमा मधेश आन्दोलनका क्रममा मारिएको शहीदहरुको चर्चा गर्छन्। तेस्रो मधेश आन्दोलनका क्रममा महोत्तरीबाट मात्रै दश जना शहीद भएका थिए भने तीन जना गम्भीर घाइते भएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell