धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन विरोधी गतिविधि नियन्त्रण गरी स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गराउने वातावरण मिलाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७४ को विषयमा गृह मन्त्रालयले आज आयोजना गरेको ७ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले केही जिल्लामा निर्वाचन प्रक्रियालाई असर पुर्याउने खालका उम्मेदवार लक्षित क्रियाकलाप बढेको जानकारी आएकाले निर्वाचनका लागि बनेको सुरक्षा योजनामा कहाँनिर त्रुटि रह्यो भन्नेतर्फ सजक भई समन्वयात्मक ढंगले काम गर्न निर्देशन दिए।
गृह मन्त्रालयकोसमेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवाले उम्मेदवारहरुमाथि भएको आक्रमणका घटनाको सूक्ष्म रुपमा अध्ययन गरी आक्रमणकारी माथि कारबाही गर्न र यस्ता घटना दोहोरिन नदिने गरी काम गर्नुपर्ने बताए।
उनले भने,‘तोकिएको समयमा निर्वाचनलाई शन्तिपूर्ण भयरहित निष्पक्ष वातारवरणमा गराउनु सरोकारवाला हामी सबैको प्रमुख कर्तव्य र जिम्मेवारी हो।’
आगामी दिनमा निर्वाचनको सुरक्षामा खतरा पुर्याउन सक्ने सम्भावित पक्षका गतिविधिको नियन्त्रण, निगरानी, अस्वस्थ्य प्रतिस्पर्धा, जबर्जस्ती चन्दा संकलन, धम्कीजस्ता गविविधलाई नियन्त्रण गर्न निर्देशन दिदैं प्रधानमन्त्री देउवाले भौगोलिक विकटता, संरचनाको अभाव, निर्वाचनमा हुने मानवीय त्रुटिजस्ता चुनौतीका बाबजुद चुनावका लागि आवश्यक वातावरण बनाउन सम्बन्धित सबै पक्षसँग आग्रह गरे। रासस