काठमाडौं : ‘माथि कोही पनि छैन भन्नु। कसैलाई पनि नपठाउनु।'
केही समय अगाडि उनले कम्प्लेसमा खटिएका सुरक्षा गार्डलाई निर्देशन दिएका थिए। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पुगेको टोलीलाई सुरक्षा गार्डको ‘हुनुहुन्न’ भन्ने ‘रेडिमेड’ जवाफले रोकेन।
मंगलबारदेखि घुस लिएको अभियोगमा अख्तियारका प्रहरीले खोजिरहेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे बुधवार चावहिल मित्रपार्कको अम्बे कम्प्लेसमै भेटिए। अख्तियारबाट बच्न पाण्डेले चालेको चाल फेल भयो।
सरकारी जागिरबाट आउँदो मंसिर ६ गते अवकाश हुन लागेका पाण्डेले अन्तिममा मोटो रकम लिएर बिदा हुने तयारीमा थिए। एक म्यानपावरको मुद्धा मिलाइदिने भन्दै पाण्डेले १५ लाख रुपैयाँ मागेका थिए। घुस दिने पक्षले १५ होइन १० लाख रुपैयाँ दिने सहमति जनाएका थिए। पाण्डेले घुसको रकम हात नपार्दै बार्गेनिङको अडियो अख्तियारको हात लाग्यो।
अख्तियारका सह प्रवक्ता खगेन्द्र रिजालले घुस अडियोको आधारमा उनलाई प्रकाउ गरेको बताए। त्यसो त मंगलबार मात्र आयोगले विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित समातेको थियो। पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए।
राजधानीको एक म्यानपावर कम्पनीले केही समय अघि १ सय ५० जना कामदारलाइ दुवई पठाएको थियो। शुरुमा म्यानपावरले भनेको जस्तो काम नपाएको भन्दै ५० जना कामदार नेपाल फर्किए। उनीहरुले क्षतिपुर्तिसमेत माग गरे।
त्यही मुद्धा अदालतमा विचाराधीन थियो। वैदेशिक रोजगार न्यायाधीकरणमा रहेको विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।