PahiloPost

Jan 31, 2025 | १८ माघ २०८१

हाइप्रोफाइल हत्या : योजनाकार फरार, प्रहरीको फन्दामा सहयोगीमात्र  



सविन ढकाल

हाइप्रोफाइल हत्या : योजनाकार फरार, प्रहरीको फन्दामा सहयोगीमात्र  

काठमाडौ :  गएको असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको दिनदहाडै गोली हानी हत्या गर्ने पाँच जनालाई मंलगवार प्रहरीले सार्वजनिक गर्‍यो। 

प्रहरीले सार्वजनिक गरेको समूहमा सुटरदेखि घटनाका सहयोगीसम्म थिए। तर, घटनाका मुख्य योजनाकार प्रहरीले पहिचान गरे पनि कानुनी कठघरामा उभ्याउन सकेको छैन। 

मुख्य योजनाकार समाउन नसक्दा अब फेरि यस्ता घटना नघट्लान् भन्ने ढुक्क हुने अवस्था भने छैन। केही वर्षयता राजधानीमा भएका हाइप्रोफाइल हत्याकाण्डका मुख्य योजनाकार अझै प्रहरीको पन्जा भन्दा बाहिर नै छन्।

गौचन हत्याको मुख्य योजनाकार समिरमान बस्नेत भएको प्रहरीको दावी छ। बस्नेत केही समयदेखि नेपाल बाहिर भएकाले पक्राउ गर्न ढिलो भएको गौचन हत्या छानविन समितिका संयोजक डिआइजी गणेश केसी बताउँछन्।

संचार उद्यमी जमिम शाह, मिर्जा दिलसाद बेग, फैजान अहमद लगायत हाइप्रोफाइल हत्याका मुख्य योजनाकार वर्षो बितिसक्दा पनि पक्राउ गर्ने प्रहरी सफल भएको छैन। 

२०६९ साल जेठ १८ मा शंखमुल नजिकैको युएन पार्कमा गोली हानी सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या गरियो। यो घटनाका मुख्य योजनाकारलाई नै प्रहरीले घटना २ वर्ष ७ महिनापछि पक्राउ गर्‍यो। समातिएका चुरे भावर पार्टीका उपाध्यक्ष बाबु थापा भनिने मेघबहादुर थापा अहिले कारागारमा छन्। 

भारतमा बसेर नेपालमा घटना गराउने भएकाले पनि मुख्य योजनाकार कमै पक्राउ पर्ने गरेको पूर्व डिआइजी हेमन्त मल्ल बताउँछन्। त्यसो त नेपाल प्रहरीसँग हाइप्रोफाइल घटनाको छानविन गर्ने दोषीलाई पक्राउ गर्ने स्रोत साधनको पनि कमी भएको मल्लको बुझाइ छ। पूर्व डिआइजी मल्ल भन्छन्, 'अपराधी आइडेन्टिफाइ गर्नु गाह्रो विषय हो। त्यसमा पनि नेपाल प्रहरीलाई लोकेसन ट्र्याक गर्नै ग्राहो छ।' नेपाल प्रहरीले भारत लगायत देशसँगको फ्रिक्वेन्सी मोविलाइजेसन कमी हुँदा भारतबाट अपराधी ल्याउन कठिन परेको दावी गर्छन्। 

यी हुन् अझैसम्म मुख्य योजनाकार फरार रहेका घटना

१. मिर्जा दिलसाद बेग : सिफल

१५ असार, २०५५ मा राजधानीको सिफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा पूर्वमन्त्री मिर्जा दिलसाद बेगको गोली हानी हत्या गरिएको थियो। राति भएको यो घटनामा बेगका चालक भुवन कार्कीलाई पनि गोली हानी मारिएको थियो। प्रहरीले ‘दाउद इब्राहिमका लागि काम गर्ने बेगको हत्या छोटा राजन समूहले गरेको’ निष्कर्ष निकालेको थियो। यसबारे छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक समितिले पनि उनको हत्यामा छोटा राजन समूहकै हात रहेको प्रतिवेदन सरकारलाई बुझायो।

 २. कमलसिंह नेपाली : बानेश्वर

२४ भदौ २०६३ मा बानेश्वरमा कमलसिंह नेपालीको हत्या भएको थियो। वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नेपाली पहिले छोटा राजनको समूहमा काम गर्थे, पछि दाउदका लागि काम गर्न थालेका थिए। छोटा राजन समूहकै निर्देशनमा उनलाई नयाँ बानेश्वरमा गोली हानी मारिएको थियो। उनका हत्यारा अहिलेसम्म पक्राउ परेका छैनन्। 

 ३. जमिम शाह : लाजिम्पाट

२०६६ माघ २४ मा राजधानीको लाजिम्पाटमा संचार उद्यमी जमिम शाहको भारतीय अन्डरवर्ल्ड डन छोटा राजन समूहले गोली हानी हत्या गरेको थियो। याक एन्ड यति होटल दरबारमार्गको हेल्थ क्लबमा नुहाएर गाडीमा पानीपोखरीस्थित घरमा जाँदै  गरेका शाहलाई अज्ञात समूहले गोली हानेको थियो। ना १ च २१५१ नम्बरको कारमा रहेका थिए उनी र चालक मथुरामान मालाकार। बा १५ प ८७३३ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली हानेका थिए। प्रहरीले घटना भएको केही वर्षपछि घटनामा संलग्न प्रहरीसहित केहीलाई पक्राउ गरेको थियो।

४. फैजान अहमद : घण्टाघर 

इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदलाई २०६८ असोज ९ गते राजधानीको घण्टाघर अगाडि गोली हानी हत्या गरिएको थियो। फैजानको हत्यामा भारतीय पेशेवरको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो। नेपाल प्रहरीले फैजानको हत्यामा संलग्न २७ वर्षीय धनबहादुर थापा मगरलाई पक्राउ गरे पनि मुख्य अभियुक्त भने अझै फरार नै रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell