PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पोखरा राइनोजको अफिसियल जर्सी सार्वजनिक, कप्तानमा शक्ति गौचन



पहिलोपोस्ट

पोखरा राइनोजको अफिसियल जर्सी सार्वजनिक, कप्तानमा शक्ति गौचन

काठमाडौं : पोखरा राइनोजलाई एभरेष्ट प्रिमियर लिग (इपीएल)मा भेट्रान स्पीनर शक्ति गौचनले कप्तानी गर्ने भएका छन्। बुधबार पोखरा राइनोजको अफिसिलय जर्सी र लोगो सार्वजनिक कार्यक्रममा शक्ति कप्तान चयन भएको टिम ओनर जगदम्बा फोर स्पोर्ट्सका एमडी साहिल अग्रवालले बताए। 'शक्ति नै हाम्रो टिमको कप्तान हो।' साहिलले भने।

यसअघि आयोजक इपीएलले ६ टिमको मार्क्यु प्लेअर सार्वजनिक गर्दा शक्ति पोखराको मार्क्यु प्लेअरका रुपमा थिए। त्यतिखेर मारक्यु प्लेअर कप्तान हुन/नहुन सक्ने आयोजकले बताएको थियो।

यस्तै राइनोजको पहेँलो, निलो कलरको अफिसियल जर्सी समेत सार्वजनिक गरिएको छ। डिजिटल भर्सनमा सार्वजनिक गरिएपछि नायक तथा मोडल सारुक ताम्राकारले जर्सी लगायर प्रदर्शन गरेका थिए।

यस्तै पहिलो पटक अफिसियल रुपमा पोखरा राइनोजको लोगो समेत सार्वजनिक गरिएको छ। उक्त कार्यक्रममा राइनोजका कप्तान शक्ति सहित विनोद भण्डारी र राजेश पूलामी मगर समेत उपस्थित थिए।

आगामी डिसेम्वर १९ बाट टियू मैदानमा हुने इपिएलमा पोखरा राइनोजसहित ६ फ्रान्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।


ट्यालेन्ट हन्ट नोभेम्वर १८ मा

आयोजकको नियम अनुसार इपीएल खेल्ने प्रत्येक टोलीले 'ट्यालेन्ट हन्ट' मार्फत एक जना लोकल प्लेअर छनोट गर्नुपर्नेछ। त्यहिअनुसार पोखरा राइनोजले पनि नोभेम्वर १८ मा पहिलो चरणको ट्यालेन्ट हन्ट गर्ने जनाएको छ।

कप्तान चयन भएपछि शक्तिले टुर्नामेन्टको लागि तयारी गरिरहेको र ट्यालेन्ट हन्टको लागि पोखरा जाने बताए। 'हामी तयारी गरिरहेका छौँ। ३ जना विदेशी खेलाडी र एक जना ट्यालेन्ट हन्टबाट प्लेअर राख्न बाँकी छ।' शक्तिले भने। 'विदेशी प्लेअर भने अहिले सस्पेन्समा राखिएको छ।'

'हामी नोभेम्वर १८ मा ट्यालनेट हन्टबाट ७ जना खेलाडी छान्ने छौँ। उनीहरुलाई डिसेम्वर ९ मा शुरु हुने क्याम्पमा राखेर टुर्नामेन्ट हुनु एकदिन अगाडी १ जना प्लेअर छान्नेछौँ।'

शक्तिले डोमेस्टिक क्रिकेट खेलेर राष्ट्रिय टिममा पर्न युवा खेलाडिलाई यो राम्रो अवसर भएको बताए। 'नेपालमा डोमेस्टिक प्रतियोगिता खेल्न नपाउनेले इपीएलमा खेलेर राष्ट्रिय टिममा पर्ने अवसर पाउनेछन्।' उनले आइपीएलको उदाहरण समेत दिए। 'भारतमा रणजी लगायत अन्य टुर्नामेन्ट नखेलेका पनि आइपीएलमा राम्रो गरेर भारतिय राष्ट्रिय टिममा परेका छन्।'

राइनोजका एमडी साहिलले विदेशी खेलाडीको छनोट प्रकिया जारी रहेको बताउँदै अर्को पत्रकार सम्मेलनमा नाम घोषणा गर्ने बताए।

यस्तै साहिलले इपीएलमार्फत युवा खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसर पाउने बताए।

यस्तै कार्यक्रममा उपस्थित जनाउन पोखरादेखि काडमाडौं आएका पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले पछिल्लो समय क्रिकेटको क्रेज बढिरहेको भन्दै पोखरालाई स्पोर्ट्स सिटीको रुपमा विकास गर्ने र स्पोर्ट्स टुरिजमलाई टेवा पूर्‍याउने बताए।

 

डब्लुसिएलको असर

नेपालले डिसेम्वर ६ र ८ मा वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल)च्याम्पियनसिप अन्तर्गत युएई विरुद्ध २ खेल खेल्दैछ। त्यसका लागि अहिले २८ खेलाडीलाई राष्ट्रिय टिमको क्याम्पमा बोलाइएको छ।


त्यसमा प्राय सबै इपीएल खेल्ने खेलाडी छन्। शक्ति गौचनले डब्लुसिएलको गेमले गर्दा इपीएल खेल्ने टिमको क्याम प्रभावित हुने बताए।

'१० दिनको क्याम्प निश्चय नै थोरै समय हो। तर युएईसँग हुने खेलका लागि राष्ट्रिय टिमको क्याम्पमा बस्नुपर्ने भएकोले क्याम्प ढिलो शुरु हुने भएको हो। लगभग सबै टिमको क्याम्प छोटो समयको हुनेछ।' उनले भने। 'तर हाम्रो टिमको ६ खेलाडी राष्ट्रिय टिमको क्याम्पमा परेका छन्। उनीहरुले त्यहाँ गर्ने प्रशिक्षणले हामालाई सहयोग पुग्नेछ।'






@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell