काठमाडौं : विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहसँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतका न्यायाधीशत्रय बावुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको संयुक्त इजलासले अकुत सम्पत्ति आर्जनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामा ५० लाख धरौटी माग गरेको हो।
३१ करोड ५० लाख स्रोत नखुलेको सम्पत्ति भेटिएको भन्दै अख्तियारले साहविरुद्ध २५ पुसमा सोही बराबरको बिगो र जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो।
अख्तियारले दायर गरेको अभियोगमाथि अदालतले वयान लिई थुनछेक आदेशका क्रममा ५० लाख रुपैयाँ धरौटी माग गरेको हो। जेलबाटै भ्रष्टाचार मुद्दाको बयानका लागि साहलाई विशेष अदालत ल्याइएको थियो।
साहका बाबुआमा, भाइ, श्रीमती सबैलाई मतियारका रुपमा विपक्षी बनाइएको छ। मतियारले गैरकानुनी रुपमा सम्पतिलाई लुकाउन सहयोग गरेको आरोप अख्तियारको छ।
घरौटी नतिरेपछि साहलाई डिल्लीबजार सदरखोरमै पठाइएको छ। धरौटी तिरे पनि साह रिहा हुने अवस्था थिएन। जनकपुर बम काण्डमा दाेषी देखिएको भन्दै धनुषा जिल्ला अदालतको अादेशले साह पुर्पक्षका लागि थुनामा छन्। थुनामुक्त भई मुद्दाको पुर्पक्षका लागि साहले तत्कालीन पुनरावेदन र सर्वोच्चको पनि सुविधा लिइसकेका छन्। तर, दुबै अदालतले जिल्लाको अादेश बदर गर्नु नपर्ने ठहर गरेपछि उनी थुनाबाटै मुद्दाको प्रतिरक्षा गरिरहेका छन्। उक्त निवेदन पनि विचाराधीन छ।
पहिलो संविधानसभा सदस्य र भौतिक पूर्वाधार राज्यमन्त्री हुँदा पदको दुरुपयोग गरी सम्पति आर्जन गरेको अभियोग साहमाथि छ।