
काठमाडौं : मलेसियामा भइरहेको एसीसी यू-१९ एसिया कपअन्तर्गत बिहिबार सेमिफाइनल हुँदैछ। किनरारा ओभलमा बंगलादेश र पाकिस्तान फाइनल प्रवेशका लागि भिड्दैछन्। यस खेलको विजेताले फाइनलमा अफगानिस्तान र नेपाल बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
बंगलादेश समूह ए मा ३ खेल जित्दै प्रतियोगिताको एक्लो अपराजित टोलीको हैसियतमा सेमिफाइनल पुगेको हो। उसले नेपाल, मलेसिया र भारतलाई पराजित गरेको थियो।
यता अफगानिस्तानसँग अप्रत्यासित हार बेहोरेको पाकिस्तान त्यसपछि दुई खेलमा युएई र श्रीलंकालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।
पाकिस्तान पहिलो संस्करणमा भारतसँगै संयुक्त विजेता घोषित भएको थियो। तर दोस्रो संस्करणमा भने भारतसँग नै पराजित हुँदै उपविजेता बन्न बाध्य भयो। तेस्रो संस्करणमा समूह चरणबाटै आउट भएको थियो।
तेस्रो संस्करणको समूह चरणमा पाकिस्तानले बंगलादेशलाई १ विकेटले पराजित गरेको थियो।
यता बंगलादेश गत वर्ष सेमिफाइनल पुगेपनि श्रीलंकासँग पराजित भएको थियो।
समूह बी मा अफगानिस्तान, पाकिस्तान र श्रीलंकाले समान २-२ खेलमा जित र १ खेलमा हार बेहोरेर समान ४ अंक जोडेको थियो। तर नेट रनरेटमा अफगानिस्तान समूह विजेता बन्यो भने पाकिस्तान श्रीलंकालाई पछि पार्दै उपविजेता बन्यो। श्रीलंका भने अभागि सावित रह्यो।
एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र मध्ये समूह चरणबाट सावित विजेता भारतसहित २ टिम आउट भइसकेका छन्।
नेपाल र अफगानिस्तानबीच दोस्रो सेमिफाइनल शुक्रबार किनरारा मैदानमै हुनेछ। नेपाल पहिलो पटक सेमिफाइनल पुगेको हो।
सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी
समूह चरणमा ३ खेल खेल्दा सर्वाधिक रन बनाउने खेलाडीमा बंगलादेशका मोहम्मद तवहिद ह्रदोरी छन् भने शीर्ष तीनमा पाकिस्तानका कोही खेलाडी छैनन्। तवहिदले ३ खेलबाट १८३ रन बनाएका छन्। यस्तै समूह चरणबाटै बाहिरिसकेको भारतका कप्तान हिमाशुं रानाले १६८ रन बनाएका थिए भने तेस्रो स्थानमा रहेका अफगानिस्तानका दरविस अबदुल रसुलले १६१ रन बनाएका छन्।
यी तीन वटै खेलाडीले समूह चरणमा शतक प्रहार गरेका थिए। चौथो स्थानमा रहेका पाकिस्तानका मोहम्मद तहाले १३९ रन बनाएका छन्। नेपालका दीपेन्द्र सिंह ऐरी ११२ रनका साथ सातौँ स्थानमा छन्।
सर्वाधिक विकेट लिनेतर्फ श्रीलंकाका खेलाडी अगाडी छन् भने नेपालका सन्दीप लामिछाने शीर्ष ३ मा छन्। समूह चरणबाटै बाहिरिसकेको श्रीलंकाका प्रभिन जायाविक्रमाले ३ खेलबाट सर्वाधिक ११ विकेट लिएका छन्।
दोस्रो स्थानमा रहेका अफगानिस्तानका मुजिव उलर हमानले ९ विकेट लिएका छन् भने नेपालका सन्दीपले ८ विकेट लिएका छन्। यी तिनै खेलाडीले समूह चरणमा एक एक पटक ५ विकेट लिएका थिए।
चौथो स्थानमा ७ विकेट लिएका नेपालका कप्तान दीपेन्द्र छन्। पाकिस्तानका मुहम्मद मुसा ६ विकेटका साथ पाँचौ स्थानमा छन्।