PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

पश्चिम सेतीको काम अगाडि बढाउन थ्री गर्जेजसँग सम्झौता



पहिलोपोस्ट

पश्चिम सेतीको काम अगाडि बढाउन थ्री गर्जेजसँग सम्झौता

काठमाडौं : नेपाल विद्युत प्राधिकरण र चीनको प्रतिष्ठित थ्री गर्जेज कम्पनीबीच पश्चिम सेती जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने विषयको द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

आज सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र थ्री गर्जेजका प्रतिनिधिले हस्ताक्षर गरेका हुन्।

प्रारम्भिक सम्झौता भएको दश महिनापछि संयुक्त लगानी गर्ने र कम्पनी स्थापना गर्ने विषयमा समझदारी भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए।


लगानी बोर्डले अगाडि बढाएको सो आयोजनाको समझदारीपत्रअनुसार निर्माण प्रक्रिया सुरु गर्न प्राधिकरण र थ्री गर्जेजबीच संयुक्त लगानी सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्ने प्रावधान रहेको छ।

सम्झौताअनुसार आयोजनामा कुल ७५ प्रतिशत चिनियाँ कम्पनी र २५ प्रतिशत प्राधिकरणको लगानी रहनेछ। सम्झौता हस्ताक्षर गर्ने तयारी स्वरुप चिनियाँ थ्री गर्जेजका प्रतिनिधि बुधबार काठमाडौं आएका थिए।

आयोजनाले डोटी, बैतडी, बझाङ र डडेलधुरालार्इ प्रभावित पार्ने देखिएको छ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले आयोजना अगाडि बढाउने सम्बन्धमा प्राधिकरण र चिनियाँ पक्षबीच भएको सम्झौता दीर्घकालीन महत्वको भएको प्रतिक्रिया दिए।

उनले भने – “लामो समयदेखि बोर्डले गर्दैआएको गृहकार्य सफल भएको छ। हामीले प्राधिकरण र थ्री गर्जेजलाई कार्य विवरण उपलब्ध गराउन भनेका छौं। सोही आधारमा अब परियोजनाले गति लिन्छ।”

आयोजनाको लागत करिब एक खर्ब ६० अर्ब हुने छ। सम्झौता पछि प्राधिकरण र चिनियाँ कम्पनीबीच संयुक्त कम्पनी स्थापना गर्ने र त्यसमा सञ्चालक समितिसमेत गठन हुनेछ।

सम्झौताअनुसार उक्त कम्पनीमा चिनियाँ पक्षका तीन जना, प्राधिकरणका एक जना र दुवै पक्षले मिलेर मनोनयन गरेको एक जना गरी पाँच जनाको सञ्चालक समिति रहने व्यवस्था गरिएको छ।

प्राधिकरणले लगानी गर्ने २५ प्रतिशत रकम जुट्न नसकेमा चिनियाँ आयात निर्यात बैंकबाट सहुलियतमा ऋण लिनसमेत सकिने छ। तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वको सरकारले चिनियाँ थ्री गर्जेजसँग २०६८ फागुन १७ मा समझदारी भएको थियो। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell